- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन आज गराउने तयारी गरिएको छ । क्षेत्रिय अधिवेशनको पहिलो दिन आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । चारवटै निर्वाचन क्षेत्रको आज एकैसाथ अधिवेशन हुने जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
सर्लाहीमा संस्थापन र संस्थापन इतर पक्षबीच जति पटक छलफल गर्दा पनि सहमति हुन नसकेपछि आज अधिवेशन गराउन लागिएको हो । स्रोतका अनुसार कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पेलेरै भए पनि अधिवेशन गराउन निर्देशन दिएका छन् ।
सर्लाहीमा जिल्ला सभापति नागेन्द्रकुमार राय देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् । सर्लाहीमा मुख्यगरी क्षेत्र नं ४ मा बढी लफडा छ । त्यहाँ त्यसै क्षेत्रका संघीय सांसद डा. अमरेशकुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंहबीच टकराब छ ।
अधिवेशनलाई दुवै नेताले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सर्लाहीमा अब पनि अधिवेशन गरेर प्रतिनिधि चयन नगरे मंसिर २४ गतेबाट शुरु हुने कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा सर्लाही जिल्ला सहभागी नै हुन नपाउने अवस्था रहेको छ ।
पेलेरै अधिवेशन गराउँदा विवाद तथा झडप हुनसक्ने भन्दै जिल्लामा अधिवेशन हुने स्थलहरुमा सुरक्षा सतर्कता निकै बढाइएको छ । क्षेत्र नं १ को ईश्वरपुरस्थित बयलवास, क्षेत्र नं २ को मलंगवास्थित पब्लिक मावि, क्षेत्र नं ३ को बरहथवा र क्षेत्र नं ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशनस्थल तोकिएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयसमेत राखिएको मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमै समेत ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।