arrow

प्रदेश अधिवेशनको परिणाम : देउवा सिटौला निकटताको सन्देश

logo
एम गौतम
प्रकाशित २०७८ मंसिर २० सोमबार
deuba-sitaula-new.jpg

काठमाडौं । संघीय संरचना अनुसार पार्टीको संरचना निर्माणका लागि भएको नेपाली कांग्रेसको प्रदेश तहको अधिवेशनमा देउवा समूहको वर्चस्व देखिएको छ। कांग्रेसले पहिलो पटक संघीय संरचनामा आफ्नो नेतृत्व चुनेको हो । 

प्रदेश २ बाहेकका प्रदेशको नेतृत्व चयनका लागि भएको अधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा समूहको वर्चस्व देखिएको छ। प्रदेश २ को अधिवेशन भने महाधिवेशनपछि मात्रै हुने भएको छ । प्राप्त परिणाम अनुसार प्रदेश १ मा संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षले उम्मेदवार बनाएका उद्धव थापा निर्वाचित भए । झिनो मत नै किन नहोस् प्रदेश १ मा अब सिटौलाको बल बढेको छ। सो प्रदेशमा कांग्रेसभित्रको रामचन्द्र पौडेल तथा डा.शेखर कोइरालाले नेतृत्व गरेको समूहका उम्मेदवार गुरुराज घिमिरे भने पराजित भए ।

यसैगरी बागमती प्रदेशमा संस्थापन समूहबाट उम्मेदवार बनेका ईन्द्र बानियाँ निर्वाचित भए। बागमतीमा पौडेल समूहले उठाएका उम्मेदवार जगदीशनरसिंह केसी दोस्रो चरणको मतदानमा पराजित बनेका हुन्। सो प्रदेशमा पहिलो चरणको निर्वाचनबाट सिटौला समूहका उम्मेदवार भीमसेनदास प्रधान बाहिरिएपछि पुनः मतदान भएको थियो । दोस्रो चरणमा प्रधानको समर्थन बानियाँलाई थियो । सिटौला समूहका प्रधानको सहयोग पाएपछि नै बानियाँ प्रदेश सभापतिमा निर्वाचित बनेका हुन् ।

यसैगरी कर्णाली प्रदेशमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन्। उनले पौडेल पक्षका उम्मेदवार भुपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन् । उनी तरुण दलका महासचिवसमेत थिए । सो प्रदेशमा समेत केही न केही भित्री सहयोग सिटौला पक्षले संस्थापन पक्षलाई गरेको बताइन्छ ।

यस्तै कांग्रेस सुदूरपश्चिममा संस्थापन निकटका वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका छन् । बलायरले संस्थापन इतर समूहका उम्मेदवार नारायणदत्त मिश्रलाई हराएका हुन् । सो प्रदेश सभापति देउवाको गृह प्रदेशसमेत हो ।

गण्डकी  र लुम्बिनी प्रदेशमा भने संस्थापन इतर अर्थात् पौडेल समूहका उम्मेदवारले विजय प्राप्त गरे। गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका हुन्। उनी पौडेलले नेतृत्व गरेको समूहका हुन् । शर्माले देउवा पक्षका अर्जुन जोशीलाई पराजित गरेका हुन् ।

यस्तै लुम्बिनी प्रदेशमा पौडेल पक्षका उम्मेदवार अमरसिंह पुन निर्वाचित भएका छन्। सो प्रदेशमा देउवा पक्षका उम्मेदवार भरत शाह पराजित भए । गृहमन्त्री बालकृष्ण खाँणले संस्थापनलाई जिताउन गरेको प्रयासले भने काम गरेन । 

छ वटा प्रदेशको परिणामले २४ मंसिरबाट शुरु हुने १४औं महाधिवेशनमा पनि देउवा–सिटौला समूहको निकटतालाई अझै बढाउने देखिन्छ । तर उनीहरुको निकटता कस्तो र कुन स्वरुपको हुन्छ भन्ने अहिले नै तय भइसकेको छैन। तर प्रदेश अधिवेशनमा भने आफू जहाँ कमजोर देखियो त्यहाँ सिटौलासँग देउवाले सहकार्य गरेको देखिन्छ ।

१४ औं महाधिवेशनमा देउवाले पुनः सभापतिमा उठ्ने चाह राख्दै आइरहेका छन् भने सिटौलाले पनि टिमसहित नै मैदानमा होमिने बताइरहेका छन् । कांग्रेसको नेतृत्व चयनको आगामी प्रक्रियामा कस्तो समीकरण बन्छ भन्ने अब केही दिनमा नै स्पष्ट देखिने छ।

१३ औं महाधिवेशनलाई फर्केर हेर्ने हो भने देउवा, सिटौला र पौडेल सभापतिको होडमा रहेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । देउवा पहिलो, पौडेल दोस्रो तथा सिटौला तेस्रो भए । 

दोसे चरणको मतदान देउवा र पौडलबीच भयो । सिटौलाले देउवालाई साथ दिए । 

परिस्थिति दोहोरिए र उम्मेदवार पनि दोहोरिए यही पुनरावृत्ति १४ औं महाधिवेशनमा पनि हुन सक्ने देखिन्छ । पौडेलको पक्षबाट स्वयं उनी वा प्रकाशमान सिंह वा डा. शशांक कोइराला वा डा. शेखर कोइराला वा अर्को कोही उठ्न सक्लान् तर सम्भावना एउटै देखिन्छ अहिलेसम्मको प्रदेशको परिणाम हेर्दा । 

तर कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रमा उम्मेदवार छान्ने अधिकार जोकसैलाई हुन्छ । महाधिवेशन प्रतिनिधिले उम्मेदवारका लागि भगवान भएर खडा हुनेछन् । उनीहरुले जसलाई मतसहितको आशीर्वाद दिन्छन् चार वर्षे कुर्सी उसैको हुनेछ । 



नयाँ