- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चुन्न १४औं महाधिवेशन २४ मंसिरबाट शुरु हुँदैछ। कांग्रेसको ध्यान प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा अधिवेशन सकेसँगै केन्द्रीय महाधिवेशनतर्फ अघि बढेको हो ।
कांग्रेस महाधिवेशनमा विदेशी पाहुनाहरुसमेत विभिन्न देशबाट सहभागी हुँदै छन् । कांग्रेसले स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति नै बनाएको छ ।
महतका अनुसार चीन, भारतसहित दक्षिण एसियाका अन्य राष्ट्रबाट सत्तारुढ तथा विपक्षी दलका विदेशी पाहुना कांग्रेस महाधिवेशनमा सहभागी हुन आउँदैछन् ।
महतले भारतबाट सत्तारुढ दल भाजपा र विपक्षी दल कांग्रेस आइका प्रतिनिधि पाहुनाका रुपमा आउने जानकारी दिए ।
‘भारतबाट सत्तारुढ दल भाजपा र विपक्षी दल कांग्रेस आइका प्रतिनिधि आउने पक्का भएको छ, अन्य दलबाट पनि पाहुनाहरु आउने कुरा छ, अन्य दक्षिण एसियाका मुलुकबाट पनि दलीय प्रतिनिधित्व हुन्छ, तर कोको आउने कन्फरमेसन आइसकेको छैन,’ कांग्रेस सहमहामन्त्रीसमेत रहेका विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापन समितिका संयोजक महतले हाम्राकुरासँग भने ।
उनले कुन मुलुकबाट कोको पाहुना आउने भन्ने तय भएपछि मात्रै वसोवासको प्रवन्ध मिलाइने बताए। महाधिवेशनका लागि कांग्रेसले विभिन्न समिति तथा उपसमिति बनाएर महाधिवेशनका लागि तयारी अघि बढाइरहेको छ।