- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रमेश पाण्डे हालै सम्पन्न नेपाली कांग्रेस गण्डकी प्रदेश अधिवेशनको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । उनले १३ वर्षबाटै राजनीति थालेका थिए ।
उनी १३ वर्षको हुँदा नेपाल विद्यार्थी संघ लमजुङको जिल्ला कार्यसमिति सदस्य थिए । त्यसबेलादेखि उनी राजनीतिमा निरन्तर सक्रिय छन् । उनी शुरुदेखि नै नेपाली कांग्रेसमा आबद्ध छन् । यस क्रममा उनी तरुण दलको अध्यक्ष, महासमिति सदस्य, महाविधेशन प्रतिनिधिसम्म भए । मध्यनेपाल नगरपालिका लमजुङका उनी मेयर पनि भए ।
उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन् । १२ र १३ औं महाधिवेशनमा पनि महासमिति तथा महाधिवेशन प्रतिनिधि थिए । उनले हालै काग्रेसको प्रदेश अधिवेशन सम्पन्न गराएका छन् ।
केन्द्रीय अधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनेमा उनी आशावादी छन् । उनी भन्छन्, ‘अहिले नेपालको राजनीति त्यती राम्रो अवस्थामा छैन । जनतामा राजनीतिप्रति भरोसा पनि छैन ।’
उनले अगाडि भने, ‘त्यसैले अब राजनीतिप्रति भरोसा दिने काम नेतृत्वले गर्नुपर्छ । त्यसको लागि नेतृत्व परिवर्तन हुन आवश्यक छ ।’ कांग्रेसमा अहिलेको नेतृत्व र अहिलेकै सोच दोहोरिने हो भने त्यसले जनतामा परिवर्तनको महसुस नगराउने उनको तर्क छ ।
‘नेतृत्व भनेको अभिभावक हो । भरोसा पनि हो’ उनले भने । नेपाली कांग्रेसप्रति जनताको भरोसा जगाउन तथा देशलाई सही बाटोमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक भएको उनको तर्क छ ।
अहिलेको नेतृत्वले पार्टीलाई रुपान्तरण गर्न सक्दैन भन्ने उनको विश्वास छ । ‘त्यसैले पार्टीको रुपान्तरणको लागि नेतृत्व परिवर्तन हुनुपर्छ’ उनले भने ।