- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्न सकिनेबारे केन्द्रीय निर्वाचन समितिले प्रस्ताव गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापतिसहित पदाधिकारीका लागि विद्युतीय मतदान मेसिन नै प्रयोग गर्न सकिने सुझाएका हुन्।
तर पदाधिकारी बाहेकका सदस्यको हकमा भने कागजी मतपत्र नै प्रयोग गर्नुपर्ने राय निर्वाचन समितिले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासमक्ष राखेको निर्वाचन समितिका एक सदस्यले हाम्राकुरालाई जानकारी दिए। सो बारेमा कसरी अघि बढ्ने भन्ने कुनै निणर्य भने भइसकेको छैन।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विद्युतीय मतदान मेसिनको प्रयोगबारे प्रस्ताव आएको र सो बारे आवश्यक निणर्य पदाधिकारी बैठकले गर्ने जानकारी दिए।
‘निर्वाचन समितिबाट पदाधिकारीको मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने प्रस्ताव आएको छ, आवश्यक निणर्य पदाधिकारीको तहबाट हुन्छ, अहिले नै कुनै निणर्य भइसकेको छैन,’ प्रवक्ता शर्माले हाम्राकुरासँग भने।
कांग्रेस १४औं महाधिवेशन ‘उत्साह, एकता, रुपान्तरण सफल बनाउँ नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित २४ मंसिरबाट २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। पदाधिकारी र सदस्य समेत गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि देश तथा विदेशबाट समेत आएका गरी करिब ४६ सय महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।