arrow

नेतृत्वमा पुर्‍याउनै पर्ने मान्छेलाई पुर्‍याउनु होला – कांग्रेस पाँचथर सभापति जवेगु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
rupnarayan-jobegu.png

काठमाडौँ । नेपाली कांग्रेस पाँचथरका नवनिर्वाचित सभापति रुपनारायण जवेगुले कांग्रेस महाधिवेशनमा चुनिनै पर्ने पदाधिकारीहरुलाई विवेकपूर्ण ढंगले छान्न सबै प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । यसअघि कांग्रेस जिल्ला कार्यसमिति सचिव रहेका सभापति जवेगुले निर्वाचनमा जोसुकै निर्वाचित भए पनि कांग्रेसका सबै नेताकार्यकर्ताहरुले एकजुट भएर अघि बढ्नु पर्ने टिप्पणी गरेका छन् ।

मंगलबार हाम्राकुरासँगको अन्तर्वार्तामा बोल्दै उनले पार्टीमा अहिले निर्वाचनका बेला देखिएको समूहलाई गुटभन्दा पनि खेल खेलिरहेको टिम जस्तै मानेर पछि चुनिएका र नचुनिएका दुवैले एकअर्काको अस्तित्व स्वीकार गरेर सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

यसो भनेका छन् उनले कुराकानीमा–
तपाईले पहिलो पटक जिल्लाको नेतृत्व गर्ने अवसर पाउनु भएको छ, फर्केर यहाँसम्मको योगदानलाई कसरी सम्झनु हुन्छ ? 
हो म अहिले पहिलो पटक निर्वाचित भएको हुँ । यसअघि म दुई कार्यकाल नेपाल शिक्षक युनियन पाँचथरको अध्यक्ष रहेको थियो । त्यसपछि १२ औं अधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएको थिए । १३ औं अधिवेशनमा जिल्ला सचिव लडेको थिएँ । अहिले चाहिँ जिल्ला सभापति भए ।  तपाईलाई नै प्रतिनिधिहरुले रुचाउनुको कारण ? 
लामो समयदेखि पार्टीमा गरेको एक किसिमको त्याग र योगदान भनौँ न । जुन १७–१८ वर्षदेखि निरन्तर रुपमा पार्टीमा खटिएर अहिले क्षेत्रिय प्रतिनिधि एवं जिल्लाका प्रिय नेता कार्यकर्ताहरुले विवेक पुर्याएर काम गर्ने अवसर दिनु भएको छ । उहाँहरुले विवेकपूर्ण निर्णय गर्नु भएको छ भन्ने मलाइ लाग्छ । र म खुसी पनि छु।

अब कसरी बढ्ने सोच्नु भएको छ ?
कांग्रेसको राजनीतिमा अहिले केन्द्रदेखि जिल्लासम्म पार्टीमा अलिकति केही गुटहरु भनौँ या टिम देखिन्छ । माथिको गुटको टिमको कारण जिल्लामा दुःख गरेर बसेको नेता कार्यकर्तालाई हिनतावोध नहोस् । सबैलाई समेटेर लैजान सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कांग्रेसको राजनीति स्वभावैले ७० वर्षभन्दा लामो इतिहास बोकेको पुरानो पार्टी रहेको कारणले लामो समयसम्म राजनीति गर्ने अग्रज पनि हुनुहुन्छ । अहिले युवा साथीहरु पनि जिल्लामा दुःख गरेर अघि बढ्नु भएको छ । यस्तै भ्रातृ संगठनहरु अहिले केही सुस्त सुस्त अवस्थामा देखिन्छन् । यी सबैलाई एक्टिभ गराएर गुटभन्दा पनि एकअर्काको अस्तित्व स्वीकार गर्दै अग्रजलाई सम्मान र युवालाई सक्रिय बनाउँदै कांग्रेसभित्र भावनात्मक एकता कायम गर्न सकियो भने आफ्नो क्षेत्र र जिल्ला कांग्रेसमय बनाउन सकिन्छ भन्ने हाम्रो सोच हो । यही पेरिफेरिमा रहेर कसरी कांग्रेसलाई मजबुत संगठन बनाएर लैजान सकिन्छ भन्ने नै पहिलो प्राथमिकता हो ।

महाधिवेशनमा आइरहेको नेतृत्वले निर्वाचनमा कस्तो प्रभाव पार्ला ?
मलाइ लाग्छ मैले पाँचथर जिल्लामा सभापतिको आकांक्षी बनेर अघि बढ्दै गर्दा सम्पूर्ण क्षेत्रिय प्रतिनिधिका रुपमा आउने, नआउने, दुःख गरेर कांग्रेस सम्हालेर बस्ने हाम्रा नेतालाई के अनुरोध गर्छु भने कांग्रेसमा तपाईहरु खट्नु भएको छ, दुःख गर्नु भएको छ । कसलाई नेतृत्वमा ल्याउँदा क्षेत्र, पालिका र जिल्ला राम्रो हुन्छ त्यही खालको नेतृत्व चयन गर्नुहोला । कोही कसैको रबरस्ट्याम्पको रुपमा मतदान नगर्नुहोस् । किनभने तपाइहरु आफैं सक्षम हुनुहुन्छ । क्षेत्रिय प्रतिनिधिहरु आफैं नेता पनि नेता हुनुहुन्छ । यसकारण राष्ट्रिय राजनीतिको सवालमा अहिले राम्रो नेता छान्नु हुनेछ र छान्नेछौं भन्ने लाग्छ । जुन गुट उपगुट देखिन्छ अधिवेशनमा गुट उपगुटलाई खेल खेल्दा टिम बनाएको जस्तो ठान्दिनु पर्यो । त्यसपछि जित्ने हार्ने भन्दा पनि सेलेक्सनमा परेकाहरुले नपरेकासाथीहरुको भावना जितेर समेटेर लाने कोसिस गर्नुपर्छ भन्ने हो । राष्ट्रिय महाधिवेशनमा काम गरेर आएपछि सिलेक्सनमा नपरेका जिल्लामा योगदान गरेका साथीहरुलाई समेत राखेर जिल्लामा बैठक गरेर व्यापक छलफल गर्ने, एकअर्काको अस्तित्व स्वीकार गरेर हुन्छ कि अनुरोध गरेर हुन्छ कि या कुनै ठाउँमा विधि विधान अनुसार जिम्मेवारी दिएर हुन्छ यसरी अघि बढ्यो भने आउँदो निर्वाचनमा कांग्रेसलाई क्षेत्रदेखि राष्ट्रसम्म नै जान सहज हुने अपेक्षा गरेका छौं । यसैका लागि हामी निरन्तर लागिरहेका छौं र लागिरहनेछौं ।

अन्त्यमा समग्रमा के भन्न चाहनुहुन्छ ?
अहिले यो महाधिवेशन लोकतन्त्रवादीहरुका लागि एक किसिमको कुम्भमेला नै हो । राष्ट्र र राष्ट्रियताको सवालमा राष्ट्र संकट पर्दा जतिबेलै कांग्रेसको आवश्यकता र कांग्रेसको नेतृत्व इतिहासले बताउँछ । महाधिवेशनको यो कुम्भमेलामा अलिकति विवेकपूर्ण ढंगले नेपाली कांग्रेसमा नेतृत्वमा पुर्याउनै पर्ने मान्छेलाई नेतृत्वमा पुर्याइयो भने राष्ट्रमा संकट पर्दा कांग्रेसले समस्या समाधान गर्न सहज हुन्छ भन्ने लाग्छ । त्यसको लागि तमाम लोकतन्त्रप्रेमी, नेतृत्व, नेताकार्यकर्तादेखि मुलुकभरका सबै शुभेच्छुकहरुलाई म नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिको हैसियतले हार्दिक अनुरोध गर्न चाहन्छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ