- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री तथा प्रदेश सभा सांसद डिल्ली चौधरीले अहिले नै नेपाली कांग्रेसको नेतृत्व परिवर्तन गर्ने बेला नआएको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पुरानै नेतृत्व दोहोरिनु पर्ने उनको तर्क छ । ‘लोकतन्त्र जोगाउन र सही ट्रयाकमा आएको देशलाई अघि बढाउन अझै पनि पुरानै नेतृत्व पार्टीलाई आवश्यक छ’ चौधरीले भने, ‘त्यसैले अहिले नै नेतृत्व परिवर्तन गर्ने बेला आएको छैन ।’
आउने चुनावमा पहिलो पार्टीको रुपमा कांग्रेसलाई विजयी गराउन नेतृत्वमा शेरबहादुर देउवा नै दोहोरिनु पर्ने उनको तर्क छ । ‘देउवाज्यूले राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था बुझुनु भएको छ । कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउन उहाँसँग भिजन छ । त्यसैले उहाँको आवश्यकता कांग्रेसमा अझै छ’ उनले भने ।
संस्थापन पक्षले भन्यो भने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने उनले सोच बनाएका छन् । ‘टिमको कुरा हो । टिमले जे भन्छ मेरो निर्णय त्यही हुन्छ’ उनले भने । उनी संस्थापन टिमप्रति प्रतिबद्ध छन् ।
गत २०७४ सालको प्रदेश सभाको निर्वाचनमा पुरानो राप्ती अञ्चलबाट प्रदेश सभामा कांग्रेसबाट चुनाव जित्ने उनीमात्र प्रदेश सांसद हुन् ।
मन्त्री चौधरी कमैया आन्दोलनबाट राजनीतिमा आएका हुन् । दाङ स्थायी घर भएका चौधरी संघीय सरकारका पूर्व श्रम राज्यमन्त्री पनि हुन् ।