- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष एवं लोकप्रिय चिकित्सक प्रा.डा. अञ्जनीकुमार झाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनी महोत्तरी ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले भने, ‘मधेसी आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छु । अहिले त्यसको तयारीसमेत शुरु गरिसकेँ ।’
उनले प्यानल भने छुट्टाएका छैनन् । कुन टिमबाट उम्मेदवारी घोषणा गर्दैछन् भन्ने विज्ञासा उनले अहिले मेटाउन चाहेनन् । मंसिर २५ गतेपछि मात्र उनले टिमको घोषणा गर्ने बताए ।
कांग्रेसको १२ र १३ औं महाधिवेशनमा उनी नेपाल चिकित्सक संघको अध्यक्षको हैसियतबाट महाधिवेशन प्रतिनिधिको रुपमा महाधिवेशनमा सहभागी भएका थिए ।
यसपटक भने महोत्तरीबाट चुनाव जितेरै महाधिवेशन प्रतिनिधिमा आएका हुन् । पार्टीमा व्यक्ति परिवर्तनभन्दा पनि सोचमा परिवर्तन हुनुपर्ने डा. झाले बताए ।
‘नेतृत्वमा जो आए पनि अबको नेतृत्वले नेपाली कांग्रेसलाई २१ औं शताब्दीको युग अनुसार पार्टीलाई हाँक्ने हुनुपर्यो र कांग्रेसलाई आउने चुनावमा पहिलो स्थानमा विजयी गराउनु पर्यो । उनले भने, ‘त्यसैले व्यक्ति परिवर्तनको कुरामा भन्दा पनि सोच परिवर्तन हुनुपर्छ ।’
१४ औं महाधिवेशनबाट चुनिएको नेपाली कांग्रेसको नेतृत्वले पार्टीलाई बलियो बनाउनु त छँदैछ देशलाई सम्वृद्ध बनाउने जिम्मेवारी पनि थपिएको उनको विश्लेषण छ ।