arrow

कांग्रेस १४औं महाधिवेशन 

शशांकले सभापतिको दाबी छाडे, रामचन्द्र, शेखर र प्रकाशमानले छाडेनन् : बुधबार फेरि बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
poudel-prakashman-sekhar.PNG
तस्बिर : शैलेन्द्र शर्माको फेसबुकबाट

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस भित्रको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार छान्न धौ-धौ परेको छ।

सभापतिका दाबेदार मध्येका एक जना नेता कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा मङ्गलवार दिनभर जसो बसेको इतर समूहको बैठक साझा उम्मेदवार टुङ्गो नलगाई बिना निष्कर्ष सकिएको हो।

बैठकमा महामन्त्री डा. शशांक कोइरालाले भने आफू सहमतिका लागि सभापतिको रेसबाट बाहिरिने भन्दै वरिष्ठ नेता पौडेलका लागि समर्थन गरेका छन् ।

तर सभापतिमा दाबी गर्दै आएका नेता डा. शेखर कोइराला र पूर्व महामन्त्री सिंह भने आफ्नो दाबीबाट टसमस भएका छैनन्।

उनीहरू आफैँ सभापतिको साझा उम्मेदवार हुनु पर्ने अडानमा छन्।

‘शशांक जीले अडान छाड्नु भयो, शेखर र प्रकाशमानले छाड्नु भएन, आज दिनभर साझा उम्मेदवार तय गर्न लामै छलफल भए पनि उहाँहरू आफैँ उम्मेदवार बन्नु पर्छ भन्नेमा नै रहनु भयो, त्यस कारण सहमति भएन,’ बैठकमा सहभागी एक नेताले हाम्राकुरासँग भने ।

‘आजसम्म रामचन्द्र जीले यो समूहलाई लिड गरे आउनु भयो, कि सबैले उहाँलाई छाडौँ, कि उहाँलाई सुप्रिम को-ओेडिनेटर बनाएर उहाँको निर्णय मानौँ भनेर हामीले बैठकमा धारणा राखेका छौं, थप छलफल भोलि गर्छौँ,’ ती नेताले बैठकमा भएको कुराकानीबारे जानकारी दिँदै भने ।

वरिष्ठ नेता पौडेलले भने दुई नेता सहमतिमा पुगे आफू पनि छाड्न तयार हुने संकृत गरेको महामन्त्री कोइरालाले भनेका छन्। तर दुवै जना सहमति गर्न तयार नभएको अवस्थामा भने अब सिंगो इतर समूहले बसेर निर्णय गर्ने बताइएको छ।

त्यसअघि इतर समूहले आफ्ना पक्षबाट जिल्लाको नेतृत्वमा जितेका, उम्मेदवार बनेका, पूर्व जिल्ला सभापतिहरू र प्रदेशमा सभापति जितेका तथा उम्मेदवार बनेका नेताहरूसँग पनि इतर समूहले छलफल गर्ने बताइएको छ। सो छलफल भोलि बुधबार बिहान ९ बजे बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा हुनेछ ।

मङ्गलवारै अनुपम फुडल्यान्डमै बसेको गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाईँ, रामकृष्ण यादव, हृदयराम थामी, कमला पन्त र दीपक गिरीसहितको बैठकले इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार तोक्न भनेका थिए। सहमति नगरेमा भने आफूहरू निर्णयमा पुग्ने उनीहरूले भन्दै आइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ