- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शुक्रबारदेखि नेपाली कांग्रेसको १४औं महाधिवेशन शुरु हुँदै गर्दा उम्मेदवारको टुंगो लगाउन धमाधम आन्तरिक बैठक चलिरहेका छन् । संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ ।
पछिल्लो तीन दिनदेखि औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् ।
वरिष्ठ नेता पौडेलले आज साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने दाबी गरेका छन् । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ । सबै कोणबाट छलफल गर्यौं । बुधबार साँझसम्म निर्णयमा पुग्छौँ ।’
संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ ।
नेताहरुले जसरी पनि सहमतिमा पुग्ने बताएका छन् । संस्थापन नेता देउवासँग भिड्नका लागि साझा उम्मेदवारको विकल्प नभएको भन्दै नेताहरु भेलामा व्यस्त छन् ।
तर सहमतिमा पुग्न भने सकेका छैनन् । अहिलेदेखि नै सहमतिमा पुग्ने नाममा नेताहरुले राष्ट्रपतिदेखि उपराष्ट्रपति पदकोसमेत सेटिङ गर्न खोजेको स्रोत बताउँछ ।
हिजो नेता सिंहको निवास चाक्सीबारीमा भएको लामो समयको छलफलले पनि समाधान गर्न नसकेको हो । तर चार जना नेताहरु पौडेल, डा. शशांक, सिंह र डा. शेखरबीच सहमति बनाउने प्रयास गर्दा सहमति हुने भए आफूहरुले छाड्ने पौडेल र डा. शशांकले बताएका छन् ।
यसरी हेर्दा प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति बन्नुपर्ने देखिएको छ । आज दुवै नेताहरु सहमतिमा पुग्ने दाबी गरिएको छ ।