- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि शुरु हुँदै गर्दा अहिलेसम्म संस्थापन पक्षले आफ्नो प्यानलको घोषणा गर्न सकेको छैन । पदाधिकारीको छिनोफानो गर्न सभापति एवं प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले आज आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेतासँग छलफल गर्दैछन् ।
महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भए पनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् ।
‘साथीहरुसँगको छलफलका लागि सभापतिज्यूले बुढानीलकण्ठमा बिहान ९ बजे बैठक बोलाउनु भएको छ’, सहमहामन्त्री डा.प्रकाशशरण महतले भने ।
देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरी टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए । देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन ।
पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ ।
कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ । देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधीले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् ।
संस्थापन इतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आज साँझसम्म टुंग्याउने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौं, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ ।
त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।