arrow

कांग्रेस १४ औं महाधिवेशन 

तीन गुटको बैठक तीनतिर : नयाँ गुट थपिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पर्सि शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन आउन दुई दिन बाँकी रहँदा कांग्रेस भित्रका विभिन्न गुटहरु उम्मेदवार छान्न बैठकमा व्यस्त छन् । यतिबेला संस्थापन पक्षको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ।

त्यसैगरी संस्थापन इतर समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ । कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारको बैठक गौशालास्थित उनको सम्पर्क कार्यालयमा दिउँसो बस्ने तयारी छ । 

विमलेन्द्र संस्थापनबाट बाहिर 
संस्थापन पक्षबाट हालका उपसभापति विमलेन्द्र निधीले विद्रोह गरेका छन् । अहिले बुढानीलकण्ठमा जारी बैठकमा निधीलाई नडाकिएपछि उनीसमेत अब सभापतिको रेसबाट ब्याक हुने सम्भावना टरेको छ । योसँगै कांग्रेसभित्र अर्को नयाँ गुट बन्ने सम्भावना बढेको हो ।

निधीले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेरै सभापतिको तयारीका लागि आवश्यक छलफल र भेटघाट गर्दै आइरहेका छन् । उनले आफ्नो छुट्टै प्यानल नै खडा हुने बताएका छन् । त्यसको तयारीका लागि जुटिरहेको उनले बताएका छन् ।  

इतरको बैठकले निष्कर्ष सुनाउने
सभापतिको साझा उम्मेदवारबारे छलफल गर्न भन्दै संस्थापन इतर समूहको बैठक अहिले अनुपम फुडल्याण्डमा जारी छ। बैठकमा इतर समूहले साझा उम्मेदवारबारे आफ्ना पक्षबाट जिल्लाको नेतृत्वमा जितेका, उम्मेदवार बनेका, पूर्व जिल्ला सभापतिहरु र प्रदेशमा सभापति जितेका तथा उम्मेदवार बनेका नेताहरुसँग छलफल गरिरहेको छ । केन्द्रीय सदस्यहरुसमेत रहेका छन् । 

बैठकमा वरिष्ठ नेता पौडेल बाहेकका सभापतिका उम्मेदवारका आकांक्षीहरु भने सहभागी भएका छैनन् । पौडेल बिहान उक्त बैठकमा सहभागी भएलगत्तै सीधै कृष्णप्रसाद सिटौलाको घरमा आफूलाई सघाउन आग्रह गर्न पुगेका थिए । 

‘बैठकमा सभापतिका आकांक्षीहरुलाई बोलाइएको छैन, इतर समूहमा रहेका तल्ला तहदेखिका नेताहरुबीचमा मात्रै छलफल भइरहेको छ, यहाँबाट नै निश्कर्ष निकाल्ने हो,’ बैठकमा सहभागी एक नेताले हाम्राकुरासँग भने ।

इतर समूहको बैठकमा नेताहरु बलबहादुर केसी, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, महेश आचार्य, डा. रामशरण महतलगायत सहभागी छन् । 

प्रकाशमान र डा. शेखरले के गर्लान् ?
इतर समूहबाट महामन्त्री डा. शशांक कोइराला ब्याक भइसकेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो समर्थन दिएका छन् । तर अन्य दुई आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइराला भने ब्याक हुन तयार देखिएका छैनन् ।

मंगलबार भएको बैठकमा समेत दुवै नेताले अडान नछाडेपछि आजका लागि बैठक राखिएको हो ।

‘प्रकाशमानजी पनि व्याक हुने मुडमा हुनुहुन्न, शेखर डाक्टर साब पनि निकै अगाडि बढ्नु भएको छ, उहाँहरु मिलेर जाने कुरामा नै शंका छ’, एक नेताले भने। 

युवा नेताको दवाव
सोही समूहका युवा नेता गगनकुमार थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाई, रामकृष्ण यादव, हृदयराम थामी, कमला पन्त र दीपक गिरी लगायतका नेताहरुले संस्थापन इतरबाट साझा उम्मेदवार तोक्न दवाव दिइरहेका छन् । 

उनीहरुले मंगलबार बैठक बसेर इतर समूहबाट साझा उम्मेदवार तय नगरे आफूहरु निर्णय लिएर अघि बढ्ने सन्देश आफ्ना समूहका नेताहरुलाई दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ