- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि पार्टीलाई सुदृढ र रुपान्तरित बनाउनु पर्ने आवाज उठेको छ । कांग्रेस इलाम सभापति डम्बर खड्काले गुटरहित, सुढृढ र जनताको भरोसायोग्य कांग्रेस बनाउन सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् ।
हाम्राकुरासँगको कुराकानीमा उनले पार्टीभित्र अनुशासन नहुँदा विधि र विधानको उपेक्षा भएको साथै गुटगत राजनीति हाबी हुँदा संगठन कमजोर बनेकाले गुटरहित कांग्रेसको परिकल्पना आजको आवश्यक्ता भएको बताए ।
कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएपछि पार्टीको निजी भवन निर्माणका लागि आफ्नोतर्फबाट एक करोड रुपैंयाँ सहयोग घोषणा गरेर अभियान शुरु गरेका खड्काले पार्टीको विधान परिमार्जन हुनुपर्ने पनि बताए ।
उनले भने,‘विधानमा समावेशीकरण भन्दा पनि कतिपयको अधिकार खुम्चाएको छ । विधानमा व्यवस्था मात्र नभइ कार्यान्वयन पहिलो प्राथमिकतामा राखिनुपर्छ । बर्ग, तह, लिङ्ग र जातका आधारमा पार्टीले हरेका नागरिकलाई राजनीति गर्ने अधिकार विधानमा व्यवस्था छ तर कार्यान्वयन कमजोर छ । यसका लागि काम गर्नसक्नुपर्छ ।’
जिल्लामा गुटरहित कांग्रेस बनाउने अभियान शुरु गरिसकेको जनाउँदै उनले सबैको भावना समेटेर एकजुट कांग्रेस बनाउन आफू क्रियाशील रहेको बताए । केन्द्रीय तहमा पनि गुटरहित कांग्रेस निर्माणका लागि आफूले दबाब दिइरहेको जानकारी दिए ।