arrow

सुदूरपश्चिमबाट कांग्रेस सभापतिसहित यी पदमा दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
Sher-Bahadur-Deuba-1.jpg

महेन्द्रनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सुदूरपश्चिमबाट पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दाबी गर्ने क्रम बढिरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो तहका कांग्रेस नेताले महाधिवेशनमा पदाधिकारीको दौडमा गति बढाएका छन् ।

कञ्चनपुर कांग्रेसका नेता एवं केन्द्रीय सदस्य नारायणप्रकाश साउदले महामन्त्री पदका लागि उम्मेदवारी दिने तयारीसहित काठमाडौँमा सम्पर्क कार्यालय सञ्चालन गरेर चुनावी गतिविधि बढाएका छन् । सभापति देउवा निकट मानिने साउदले आफू महामन्त्री पदको उम्मेदवार नबने पनि आफू निकट नेता तथा कार्यकर्तामार्फत प्रचारप्रसार अघि बढाइरहेका छन् । 

त्यसै गरी कांग्रेस कञ्चनपुरका अर्का नेता एवं केन्द्रीय सदस्य रमेश लेखक पनि १४औँ महाधिवेशनमा पदाधिकारीको दौडमा छन् । उनले टिमको छलफल र टुङ्गोबाट आफू अघि बढ्ने निकटस्थलाई बताइरहेका छन् । उनको दाबी पनि महामन्त्री पदमै रहेको कांग्रेस नेताको भनाइ छ । कञ्चनपुरमा नेता लेखकको निर्वाचन क्षेत्र नं ३ र साउदको २ नम्बरमा राम्रो प्रभाव छ । 

त्यसै गरी कञ्चनपुर निर्वाचन क्षेत्र १ मा पार्टीमा राम्रो पकड बनाएका संविधानसभा सदस्य दिवान विष्टले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । संस्थापन इतर समूहसित नजिक मानिएका विष्टले यस पटक जिल्ला स्तरसम्मको निर्वाचनमा भने नेता साउदसित चुनावी तालमेल गरेका थिए । विसं २०३२ को सरोफोरोबाट कांग्रेसको राजनीतिमा रहेका नेता विष्ट १४औँ महाधिवेशनमा आइपुग्दा सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।

यसै गरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट कांग्रेस नेता केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् । बाजुराबाट यसअघि सहमहामन्त्रीमा कांग्रेस नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारलाई अघि बढाउनुभएको छ । उन रामचन्द्र पौडेल निकट नेता मानिन्छन् ।

त्यसै गरी दार्चुला, बैतडी क्षेत्रमा राम्रो पकड बनाएका कांग्रेस केन्द्रीय सदस्य तथा कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले पनि केन्द्रीय पदाधिकारीमा आकाङ्क्षा देखाएको उन निकट नेताको भनाइ छ । पौडेल समूहबाट सहमहामन्त्री पदमा बडूको नाम उम्मेदवारको आकाङ्क्षीका रूपमा आउने गरेको भए पनि उनी टिमसित छलफलबाट अघि बढ्ने मनस्थितमा छन् । “टिमको निर्णय अनुसार मन्त्री कुन पदमा लड्ने भन्ने टुङ्गोमा आज बेलुकी वा भोलि बिहानसम्म पुग्नुहुन्छ”, उनका एक सहयोगीले भने । 

त्यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन् । कैलालीको टीकापुरबाट कांग्रेस नेता एवं प्रदेशसभा सदस्य डा रणबहादुर रावलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले महाधिवेशनमा सुदूरपश्चिम प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस कञ्चनपुरकी नेतृ एवं महिला सङ्घ केन्द्रीय सदस्य रमिता शाही देउवाले पनि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहराले १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट पदाधिकारीमा पनि माथिल्लो तहमा यहाँका नेताले स्थान पाउने सम्भावना कम रहेको बताए ।

“सभापति पनि यतै, उपसभापति र महामन्त्री पनि यतिकैले पाउँलान जस्तो लाग्दैन”, बोहराले भने, “सहमहामन्त्री र केन्द्रीय सदस्य भने यहाँका नेताले बाजी मार्न सक्छन् ।” महाधिवेशनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र पार्टी सभापतिलगायत नेता काठमाडौँ जाने क्रम सुरु भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ