arrow

कांग्रेस १४औं महाधिवेशन

भाग पुर्‍याउन पाँच पदाधिकारी थप्ने तयारी : पौडेलबाट केन्द्रीय समिति बैठक नै बहिष्कार 

केही संख्यामा केन्द्रीय सदस्यसमेत थपेर भाग पुर्‍याउने देउवाको योजना

logo
एम गौतम
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन शुरु हुने तयारी भइरहँदा सभापति शेरबहादुर देउवाले पदाधिकारीको संख्या थप्ने तयारी गरेका छन् । महाधिवेशनको सरगर्मी बढ्दै गर्दा पदाधिकारीमा दाबी गर्ने आकांक्षीहरुलाई मिलाउन देउवाले पदाधिकारीको संख्या थप गर्ने तयारी थालेका हुन् ।

उच्च स्रोतका अनुसार एक महिला उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री थप गर्ने तयारी सभापति देउवाको छ। देउवाले आज बस्ने केन्द्रीय समिति बैठकमा नै पदाधिकारी थपको प्रस्ताव लैजानेसमेत तयारी गरिरहेका छन्। 

तर, संस्थापन इतर मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी थप्ने प्रस्तावलाई स्वीकार गरेको छैन। सो विषयको सूचना पाएपछि पौडेलले बैठक नै बहिष्कार गर्ने निर्णय गरेका छन्।

पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले पदाधिकारीको संख्या थपको विषयमा नेता पौडेलको असन्तुष्टी रहेको र बैठकमा नजाने निर्णय गरेको जानकारी दिए।

देउवा निकटका एक नेता भन्छन्, ‘आकांक्षी धेरै छन्, भाग मिलाउनै पर्ने दबाब सभापतिलाई छ, त्यसकारण पनि यो तयारी भएको हो, सकेसम्म केन्द्रीय समितिमा नै यो प्रस्ताव जान्छ, नभए पदाधिकारी बैठकमा लैजाने तयारी छ,’ सभापति देउवा निकट एक नेताले हाम्राकुरासँग भने।

तर पदाधिकारीबाट निर्णय गराउदा पनि सो निणर्यलाई केन्द्रीय समितिमा लगेर पास गर्नु पर्ने हुँदा देउवा अलमलमा परेका छन्। सोही कारण ११ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक अझै शुरु हुन सकेको छैन ।

हालको कांग्रेस विधानमा भने १३ जना पदाधिकारी रहने व्यवस्था छ। विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री संविधानले तोकेको विभिन्न क्ल्स्टर अनुसार निर्वाचनमार्फत चयन हुने छन् ।

शुक्रबारबाट शुरु भएर २७ मंसिरसम्म चल्ने महाधिवेशनमार्फत कांग्रेसले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दैछ । विधानअनुसार कूल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनित हुने व्यवस्था विधानमा छ।

कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचना अनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूण रुपमा हेरिएको छ।

कांग्रेस विधान अनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ।

यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ