- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने स्पष्ट पारे । पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरु उठाउन गाह्रो भएको सुनाउँदै यसपटक आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको उनको भनाई छ । स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उनले बताए । आफ्ना नेपाली नागरिकहरुले अन्य देशमा गएर कमाएर ल्याएमा देश समृद्ध हुने उनको भनाई थियो ।
उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि औंल्याए । नेपालको आर्थिक-सामाजिक रुपान्तरणका नायक देउवा भएको उनको भनाई थियो ।
देउवा पराजित भएमा मुलुकको राजनीतिको नेतृत्व पनि बदल्नुपर्ने भन्दै मुलुकको राजनीति बदल्नुपरेमा मुलुक अस्थिरतातिर जाने उनले जिकिर गरे । नेतृत्व परिवर्तन भएमा सरकार बदलिने र सरकार बदलिएमा निवार्चन अनिश्चित् हुने उनले धारणा राखे । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुने उनको भनाई थियो ।
दलितको ८ प्रतिशत सहभागिता हुनुपर्नेमा कांग्रेसमा जम्मा ५ प्रतिशत मात्र भएको उल्लेख गर्दै आफु सह–महामन्त्रीमा निर्वाचित भए ८ प्रतिशत सहभागिता पुर्याउन जोड दिनेपनि प्रतिबद्धता गरे । ‘नेपाली कांग्रेसका सभापति देउवालाई जिताइदिनुहोस्, नेपालका आर्थिक–सामाजिक रुपान्तरणका नायक नै शेरबहादुर देउवा हुन् । अहिले सिंगो नेपालको राजनीतिको नेतृत्व गर्नुभएको छ । काग्रेसको नेतृत्व देउवाले गर्नुभएको छ । यदि कांग्रेसको नेतृत्व बदलिएमा मुलुकको राजनीतिको नेतृत्व बदल्नुपर्छ,’नेता विश्वकर्माले भने,‘राजनीति बदल्नुपरेमा मुलुकको राजनीति नै बदल्नुपर्छ । मुलुकको राजनीति बदल्नुपरेमा मुलुक राजनीतिक अस्थिरतातिर जान्छ र सरकार बदलिन्छ । सरकार बदलिएमा निवार्चन अनिश्चित् हुन्छ । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुन्छ ।’
भोलिको दिनमा पनि आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा नै भएकोले अहिले सभापतिमा देउवालाई भोट दिन पनि उनले अपिल गरे । उनले भने,‘कांग्रेसको नेतृत्व बदलिएमा देशकै राजनीति खलबलिनै भएकोले देशलाई बचाउन र संसद्को पुरा आयुको लागि देउवालाई भोट दिनुहोस् ।’
‘जमिन जोत्नेको हुन्छ, घर पोत्नेको हुन्छ’ भन्दै आर्थिक क्रान्तिको लागि आर्थिक-सामाजिक क्रान्तिको नारा लगाएर १०४ वर्षको राणा शासनलाई जम्मा ३ महिनाको सशस्त्र क्रान्तिले थला पार्नसक्ने नेपाली कांग्रेस शक्तिशाली भएको बताउँदै उनले भने,‘कांग्रेसको कार्यकर्ता हुँ भन्दा आज मलाई निकै गर्व लाग्छ ।’
नेता विश्वकर्माले कांग्रेस समावेशी पार्टी भएको पनि उल्लेख गरे । उनले सबै समुहलाई सशक्त रुपमा अगाडि बढाउने कांग्रेसले दलित राष्ट्रिय आयोगको गठन गरेको पनि स्मरण गराए । उनले देउवाको प्यानलबाट केही साथीहरुले पनि केन्द्रीय सदस्यतामा उम्मेदवारी भोलि घोषणा गर्ने जनाए । बिमलेन्द्र निधिको सभापति पदको उम्मेदवारीको बारेमा उनले भने,‘पार्टी सभापति देउवाले निधिबाट पुग्ने क्षतिपुर्ति अन्यत्रबाट गर्ने व्यवस्था गरेकोले खासै ठुलो क्षति पुग्दैन् ।’