arrow

पत्रकार हरि बाँस्तोलालाई युआरएल पत्रकारिता पुरस्कार प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
Hari Banstola.jpg

पोखरा । पोखराका पत्रकार हरिप्रसाद बाँस्तोला पुरस्कृत भएका छन् । उनी युआरएल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले आठौं वार्षिकोत्सवको अवसरमा पत्रकार बाँस्तोलालाई नगद २० हजार रुपैयाँ र ताम्रपत्रले पुरस्कृत गरेको हो । 

उनलाई गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ, संस्थाका अध्यष ठाकुर प्रसाद पन्त, प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठ लगायतले पुरस्कृत गरेका हुन् ।

पत्रकार बाँस्तोला राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री गुरुङले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको बताइन् । महामारीले यो क्षेत्रमा निकै ठूलो चुनौती थपेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै सरल र सुलभ तवरले स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिन् । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापाले पछिल्लो समय नेपालले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको बताए । 

प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङले राज्यका नीति, नियम र मापदण्ड पालना गरी युआरएलले गुणस्तर सेवामा छुट्टै पहिचान बनाएको बताए । 

प्रतिभा छनोट समिति संयोजक दीपेन्द्र श्रेष्ठले साढे तीन दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार बास्तोलालाई पुरस्कृत गर्दा पत्रकारिता क्षेत्र नै सम्मानित भएको बताए । 

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले युआरएलले गुणस्तरीय सेवासँगै सेवा प्रवद्र्धनका लागि सामाजिक कार्य र सञ्चार माध्यमसँग सहकार्य गरी नमुना काम गरेको जनाइन् ।

अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले स्वास्थ्य क्षेत्रमा सरकारभन्दा तीन गुणा बढी हिस्सा निजी क्षेत्रको भए पनि सरकार निजी क्षेत्र मैत्री हुन नसकेको गुनासो गरे ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले राज्यका मापदण्ड पालना गर्दै गुणस्तरीय सेवा दिएर प्रदेशलाई प्रयोगशाला क्षेत्रमा आत्मनिर्भर बनाउन लागिपरेको जनाए । उनले पाँच करोडभन्दा बढी लगानी गरी हालै पोखराको हस्पिटलचोकमा शाखा सञ्चालन गरिएको बताए । 

युआरएलका निर्देशक सन्दीप अर्यालले आफूहरुले सेवापछिको नाफामा विश्वास गर्ने जनाए । 

 युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले संसारकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष जनशक्ति र सेवाग्राहीको विश्वासले युआरएल यहाँसम्म आएको बताए ।

युआरएल पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ