- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसमा निष्ठाको राजनीतिक गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । संस्थापन पक्षको टिमबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने उनको तयारी छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनी शुरुदेखि नै नजिक छन् ।
उनी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । ११ औं महाधिवेशनमा उनी महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि थिए ।
नेपाली कांग्रेसलाई अनुशासित, संगठित, पारदर्शी र बलियो पार्टी बनाउने उनको एजेन्डा छ । ‘म नेपाली कांग्रेस मूल्य र मान्यताबाट अघि बढोस् भन्ने चाहन्छु’ राठौरले भने, ‘पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्न आवश्यक छ ।’
उनी नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व सभापति कृष्णप्रसाद भट्टराईसँग निकै प्रभावित भएका छन् ।
राठौर २०४१ सालबाट राजनीतिमा प्रवेश गरे । उनी सुरुमा नेपाल विद्यार्थी संघमा आबद्ध भए । नेविसंघमा हुँदाससम्म उनले नेपाली कांग्रेसको राजनीति गरेनन् । नेविसंघमा हुँदा उनी सहमहामन्त्री तथा केन्द्रीय उपाध्यक्ष भए । २०५८ सालमा उनी केन्द्रीय उपाध्यक्ष भए । त्यसपछि उनले नेपाली कांग्रेसबाट राजनीति गर्न शुरु गरे । उनी नेपाली कांग्रेसमा इमान्दार तथा निष्ठावान नेताको रुपमा चिनिन्छन् ।
नेपाली कांग्रेसमा काम भन्दा पनि चााकडी गर्ने प्रवृत्ति तलैदेखि हावी भएको भन्दै राठौरले चिन्ता व्यक्त गरे । म नेपाली कांग्रेसमा ‘वर्किङ कल्चर’ हावी गराउन चाहन्छु । उनले भने, ‘ताकि नेपाली कांग्रेसमा काम कम गर्ने चाकडी बढी गर्ने प्रवृत्ति र संस्कार अन्त्य होस् ।’