- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम १४औं महाधिवेशनमा सभापतिका आकांक्षी विमलेन्द्र निधीले नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा सभापति बनाउनु पर्ने धारणा राखेका छन् । शुक्रबार चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई सर्वसम्मत पार्टी सभापतिको प्रस्ताव गरेका हुन् ।
उनले पौडेललाई सभापति बनाएर एकताको सन्देश दिन कांग्रेसका नेता कार्यकर्तासँग आह्वानसमेत गरे । सभापतिका अन्य आकांक्षीहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले आफ्नो अडान कायम राखिरहेको अवस्थामा सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका निधी पौडेलको पक्षमा खुलेका हुन् ।
उनले भने, ‘पौडेल सर्वसम्मत सभापति नबनाइए सभापतिमा मेरो उम्मेदवारी कायम रहनेछ । सभापति शेरबहादुर देउवाले पनि पौडेललाई प्रस्ताव गर्नुपर्छ ।’
कांग्रेस केन्द्रीय समितिको बिहीबारको बैठकमा नेता पौडेल अनुपस्थित भएकोमा उनले दुःखसमेत व्यक्त गरे । संस्थापन समूहका नेता निधी सभापति देउवालाई चुनौती दिंदै सभापतिको दौडमा छन् । उनी कांग्रेसमा हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको पक्षमा उभिएका छन् ।