- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं शहीद पत्नी सिर्जना श्रेष्ठ सिंहले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइन् ।
उनी शहीद संजय सिंहकी पत्नी हुन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति संजय सिंहको २०५९ कार्तिक १४ गते काठमाडौंको कीर्तिपुरस्थित निवासमै हत्या गरेको थियो । सिर्जना उनकै पतिको प्रेरणाले राजनीतिमा आएकी थिइन् ।
तर राजनीतिमा बामे सर्दै गर्दा उनले पतिको साथ गुमाउनु पर्यो । त्यसपछि उनको प्रेरणाबाटै उनले कांग्रेसको राजनीतिलाई अगाडि बढाइरहेकी छिन् । उनले भनिन्, ‘२० वर्षदेखि राजनीतिमा छु । उहाँको माओवादीले हत्या गरेपछि म सक्रिय छु ।’
यसपालिको महाधिवेशनमा उम्मेदवारी किन त ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘महिलाहरुको आरक्षण भन्दा पनि समानता र हकका लागि अगाडि आउन खोजेको हो । संविधान र विधानमा भने जति आउन नसके पनि सबैको सम्मान होस् भन्नका लागि केन्द्रीय सदस्य बन्न खोजिरहकी छु ।’
यहाँसम्म आउन निकै संघर्ष गरेकी सिर्जनाले एक्लै भएपछि परिवार र समाजबाट अगाडि बढ्न गाह्रो रहेको दुखेसो गर्छिन् । काठमाडौं १० बाट महाधिवेशन प्रतिनिधि भएकी उनको परिचय यतिबाटमात्र सीमित छैन ।
उनी द्धन्द्धपीडित महिला राष्ट्रिय संजालकी अध्यक्षसमेत छिन् । उनले एकल महिलामा काम गरेको २० वर्ष भइसकेको छ । मानवअधिकारका लागि महिला एकल महिला समूहकी महासचिव हुन् उनी ।
उनका श्रीमान् कीर्तिपुरमा निकै लोकप्रिय थिए । उनी बितेपछि सिर्जनाको संघर्ष शुरु भयो । तर उनले कहिल्यै हार खाइनन् । शिक्षामा पनि अब्बल बन्दै गएकी उनले मानवशास्त्रमा एएमफिल गरिरहेकी छिन् । उनले एलएलबीसमेत गरेकी छिन् ।
उनी कुन गुटबाट चुनाव लड्छिन् त भन्ने प्रश्नमा भन्छिन्, ‘म प्यानल भन्दा पनि महिला हकका लागि आएकी हुँ । मलाई दुवै पक्षले प्यानलका लागि बोलाउनु भएको छ । मैले केही पनि सोचेकी छैन । लाग्छ सबैकी प्यारी हुँ ।’
उनी आफ्नो उम्मेदवारीबारे भन्छिन्, ‘अधिकारयुक्त सम्मानजनक जीवन बाँच्न पाउने अधिकार प्रत्याभूत कार्यान्वयनका लागि मेरो काम हामी नेपालीको शान –मेरो उम्मेदवारी ।’