- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीले सबै खाले दुःख कष्ट बेहोरेको बताएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने क्रममा भने, ‘हजारौँ नेता कार्यकर्ता शहीद भएका छन् । हजारौँ साथीहरुले द्धन्द्धकालमा जीवन समाप्त पार्नुपर्ने अवस्थाबाट पनि यो पार्टी गुज्रेको छ । यो पार्टीले कठिन समयमा पनि अडिग रहेर हरेक नागरिकका लागि आफू पनि अगाडि बढेर समाज र देशलाई अघि बढाउन निरन्तर संघर्ष गरेको छ ।’
उनले अगाडि भने, ‘त्यसका बाबजुत पनि लोकतान्त्रिक मान्यतालाई जीवन पद्धति बनाउन सकेका छैनौँ । त्यसमा पार्टीका कमी कमजोरी छन् । अरु कुरा बिक्छन् नेपाली कांग्रेसको काम बिक्दैन ।’ उनले भने, जनताको बीचमा गएर नेपाली कांग्रेसलाई जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित गर्नुछ । अहिले ठूलो संख्यामा युवा नेपाली कांग्रेसमा जोडिएका छन् । महिला, आदिवासी जनजाति, मधेस विभिन्न जातजाति समुदाय जोडिएको छ ।’
उनले भने, ‘मलाई विश्वास छ १४ औँ महाधिवेशनले कांग्रेसलाई नयाँ उर्जा दिनेछ, गतिशिल हुनेछ, आधुनिक हुनेछ, सूचना प्रविधिमा अब्बल हुनेछ र सम्पूर्ण राष्ट्रिय मुद्दाहरुलाई अपटुडेट गरेर हरेक विषयमा आफ्ना दृष्टिकोण सार्वजनिक गर्ने र त्यस अनुसार अन्य पार्टीलाई अगाडि बढाउने र विपक्षीका मुद्दाहरु कमीकमजोरी र बदमासीलाई चिरफेर गरेर जनताको बीचमा लैजाने पार्टी हामीले बनाउनु छ ।’
उनले कुनै पनि कांग्रेसका कार्यकर्ताले जिम्मेवारी नपाएको अवस्था नरहोस् भन्दै माथिदेखि प्रशिक्षण दिएर जनताको बीचमा विचार सम्प्रेषण गरेर लैजानु पर्ने बताए ।