arrow

केसी संस्थापन इतर टिम मिलाउन प्रयासरत, मिल्ने हकमा केन्द्रीय सदस्यमा उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
arjun-narasingh-kc-2021.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उम्मेदवारी दिने समय नजिकिँदै गर्दा अन्तिम समयसम्म संस्थापन इतरको टिम मिलाउन नेता अर्जुननरसिंह केसी प्रयासरत देखिएका छन् । उनी आफूलाई उपसभापतिमा लड्न दबाब आएको भए पनि टिम मिलाउने हकमा केन्द्रीय सदस्यमै झरेर पार्टीका लागि त्याग गर्न तयार देखिएका छन् । 

उनले हाम्राकुरासँग सभापतिदेखि महामन्त्रीसम्मको मिल्दो र चित्त बुझ्दो टिम बनाएर एकताको सन्देश दिइ मैदानमा उत्रने योजनामा आफू अन्तिम समयसम्म लडिरहने बताएका छन् । उनले आफूलाई उपसभापतिमा लड्न भनिए पनि केन्द्रीय सदस्यमै लडेर टिम मिलाउन प्रयासरत रहेको बताए । 

१३ औं महाधिवेशनमा महामन्त्रीमा लडिसकेका नेता केसीले एकता बिना मैदानमा उत्रिएर नजितिने सन्देश दिँदै आफ्नो योजना सुनाएका छन् । उनले इतर पक्षमा एकसे एक नेता भए पनि नेतृत्व लिनका लागि टिम मिलाउनुको विकल्प नभएको बताएका छन् । 

उनले भने, ‘उपसभापतिमा मलाई लड्न ब्यापक दबाब आइरहेको छ । म लड्दिन यो समूहको ब्यापक एकताका लागि । मैले प्रस्तावित गरेको रामचन्द्रजी सभापति लड्नुस्, उपसभापति प्रकाशमान र शशांक लड्नुस्, महामन्त्री शेखर र गगन गराएर टिम बनाउँ भनेर अन्तिमसम्म मेरो प्रयास यस्तो रहेको छ । त्यसकारण केन्द्रीय सदस्यमा लड्छु । मेरो अन्तिमसम्मको प्रयत्न यही हो ।’

लामो समयदेखि इतर पक्षको टिम मिलाउन दर्जनौं बैठक भइसकेका छन् । तर सहमति जुटेको छैन । सभापतिमा प्रकाशमान सिंहले दाबी नछाड्ने भएसँगै टिम मिल्न नसकेको हो । सभापतिका लागि तीन दिनअघिसम्म डा. शशांक कोइराला, प्रकाशमान, डा.शेखर कोइराला र रामचन्द्र पौडेल डटिरहेको भए पनि सोही दिनको बैठकबाट डा. शशांकले रामचन्द्रलाई सहमति गर्दै दाबी छाडेका थिए । 

शेखरलेसमेत रामचन्द्रको हकमा दाबेदारी छाड्ने बताएका छन् । तर रामचन्द्रले जसको नाममा सहमति बने पनि साझा उम्मेदवार बनाएर जानुपर्ने अडान राखेको भए पनि प्रकाशमान भने आफूले उम्मेदवारी दिएरै छाड्ने अडान कसेका छन् । 

यही कारण केसीले परिकल्पना गरेको टिम तयार हुन सकेको छैन । उनी कसैलाई काखा पाखा नगरी यथोचित पदमा व्यवस्थापन गरेर आफू त्याग गर्न तयार रहेको धारणा सार्वजनिक गरे पनि नेताहरु भने आफू नै अगाडि बढिरहेको देखिन्छ । 

एउटै टिम बनाएर नजाने हो भने संस्थापन पक्ष यसपटक पनि हावी हुने निश्चित छ । संस्थापनबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार हुनेछन् । उनलाई कृष्णप्रसाद सिटौला पक्षले साथ दिएसँग थप बलियो भएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ