arrow

सभापतिमा पौडेलको साथ शेखरलाई : विश्वप्रकाशलाई महामन्त्रीमा तान्ने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
ramchandra paudel.jpg

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूह भित्रको राजनीतिक समीकरण बदलिने संकेत देखिएको छ।

इतर समूहबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, हालका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला मैदानमा उत्रने तयारी गरेपनि महामन्त्री कोइराला भने रेसबाट बाहिरि सकेका छन्।

वरिष्ठ नेता पौडेल पनि समूह भित्र साझा उम्मेदवार तय गर्ने विषयमा सहमती नबन्ने देखिएपछि सभापतिको रेसबाट बाहिरिने मनस्थितिमा पुगेको उनी निकट विश्वस्थ स्रोत बताउँछ।

पूर्व महामन्त्री सिंहका कारण इतर समूहमा साझा उम्मेदवार तय गर्न समस्या भएको पौडेल निकट नेताहरुले बताइरहेका छन्। यो अवस्थामा पौडेलले नेता शेखरलाई साथ दिने अवस्था कांग्रेस इतर समूह भित्र बन्दै गइरहेको छ।

शुक्रबार राती अबेरसम्म पनि इतर समूहबाट साझा उम्मेदवार छान्ने प्रयास भएको थियो। तर सिंहले कुनै हालतमा आफू ब्याक नहुने र आफ्नो नाममा सहमती भए मान्ने भन्दै बैठक स्थलबाटै बाहिरिएका थिए।

तर नेता शेखर भने पौडेलको नाममा सहमती हुने अवस्था बने आफू बाधक नबन्ने बताइ रहेका थिए। अब सो अवस्था पनि नबन्ने र सिंह कुनै पनि हालतमा ब्याक नहुने अवस्था बन्दै गएपछि पौडेलले शेखरलाई नै सहयोग गर्ने गरी टिम बनाउन अघि बढेका छन्।

यसैगरी नेता शेखरले आफ्नो समूहबाट उपसभापति र महामन्त्री बनाउनका लागि नेताहरुसँग वान टु वान वार्ता गरिरहेका छन्।

उनले केहीबेरअघि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा डा. चन् द्र भण्डारीसँग एक्लै लामो संवाद गरेका थिए। त्यसपछि उनी नेता पौडेललाई भेट्न त्यहाँबाट बाहिरिएका छन्।

यस्तै हाल संस्थापन समूह भित्र रहेका तथा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई शेखरले आफ्नो टिम बाट महामन्त्री बनाउने गरी टिम भित्र छलफल गरिरहेका छन् ।

संस्थापन समूहबाट शर्माले महामन्त्रीमा दाबी गरिरहेका छन्। तर सभापति शेरबहादुर देउवा भने उनलाई अहिलेसम्म महामन्त्री बनाउन तयार भएका छैनन्। यो अवस्थामा त्यहाँ भित्र आफूलाई स्थान असुरक्षित लागे शर्मा बाहिरिन सक्ने आँकलन पछि गरिएको छ। नेता शेखरले केहीबेरमा शर्मालाई भेट्ने उच्च स्रोतले बताएको छ।

याे अवस्था बन्दै गए कांग्रेसको १४औं महाधिवेशनमा अब सभापति पदमा देउवा, उपसभापति विमलेन्द्र निधि र नेताहरु शेखर र सिंहबीच प्रतिस्पर्धा हुनेछ। तर, अन्तिमसम्म हालका उपसभापति निधि पनि मैदानमा उत्रन्छन् या अरु कसैलाई सघाउने अवस्थामा पुग्न सक्छन्, सो विषय गौण छ।



नयाँ