arrow

महेश आचार्यले दिए उपसभापतिमा उम्मेदवारी  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
mahesh-acharya-nc-election.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले पार्टीको १४ औं महाधिवेशनमा उपसभापतिको पदमा उम्मेदवारी दिएका छन् । उनले दिउँसो राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । 

नेतृत्वका लागि संस्थापन इतर समूह अझै निर्णयमा पुगिनसकेको अवस्थामा आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका हुन् । उनी संस्थापन इतरमा गनिन्छन् । वौद्धिक क्षमता निकै भएका आचार्य संस्थापन इतरका नेता मानिन्छन् । 

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ । 

हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ । 

 उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । 

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 
 



नयाँ