- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । दिउँसो २:३० बजेसम्म सभापति उम्मेदवारमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि कल्याण गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी मनोनयन गरेका छन् ।
त्यस्तै उपसभापतिको पदमा पूर्व मन्त्री महेश आचार्यले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा तीन जनाले उम्मेदवारी दिएका छन् । मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे र फर्मुला मनसुरले उम्मेदवारी मनोनयन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा तीन, अल्पसङ्ख्यकमा एक र मुस्लिम कोटामा एक जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशका लागि एक, गण्डकीका लागि एक र सुदूरपश्चिम प्रदेशका लागि एक तथा थारु कोटाबाट दुईजनाले उम्मेदवारी मनोनयन गराएका छन् ।
त्यसै गरी, वाग्मती प्रदेशबाट दुई, मधेसी कोटाबाट चार, कर्णालीबाट दुई तथा आदिवासी जनताजाति तर्फबाट ११ जनाले मनोनयन गराएका छन् । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ ।
विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसार फरक फरक गरी कूल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।
आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिनेछ ।