- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा दिउँसो २ः३५ बजेसम्म सभापतिमा दुईसहित ३४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न पाइने छ । अहिलदेसम्म ३४ ले उम्मेदवारी दिएका छन् । सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको हो ।
दुई उपसभापतिका लागि अहिलेसम्म महेश आचार्यको मात्र उम्मेदवारी परेको छ । दुई महामन्त्रीका लागि हालसम्म कसैको उम्मेदवारी परेको छैन ।
आठ सहमहामन्त्रीका लागि भने हालसम्म मानबहादुर विक, बद्री पाण्डे र फरमुल्ला मन्सुरले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुले क्रमशः दलित, पिछडिएको क्षेत्र र मुसलमान कलस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
खुलातर्फ ३५ केन्द्रीय सस्दयमा हालसम्म मदनबहादुर अमात्य, लक्ष्मणबहादुर बस्नेत, जिपछिङ लामा, तरुण दलका अध्यक्षसमेत रहेका जितजंग बस्नेत र रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
दलित कलस्टरका नौ केन्द्रीय सदस्य पदमा सुजाता परियार, अमरबहादुर बराइली, मैकलाल बाल्मिकी र पवित्रा विश्वकर्माले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
मधेशी कलस्टरबाट नौ पदमा सकलदेव सुतियार, अनितकुमार झा, अञ्जनीकुमार झा, अजय द्विवेदी र मिथिलेश मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।
सात प्रदेशबाट महिलासहित निर्वाचित हुने २१ जनाका लागि कर्णालीबाट जानकी शाह, कर्णबहादुर बुढा र दिनबन्धु श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खसआर्य कोटाबाट ६ महिलासहित १३ जना निर्वाचित हुने सदस्य पदका लागि रामकृष्ण घिमिरे, खिलानाथ दाहाल, ईश्वरबहादुर मल्ल, कृष्णप्रसाद कोइराला, दिपेशप्रसाद भट्ट, अच्चुतप्रसाद गुरागाईं र जगतप्रसाद जोशीले उम्मेदवारी दर्ता गरेका छन् ।
अपांगता एक कोटाका लागि डेकराज भट्टराई, गोपालबहादुर देउवा र तिलप्रसाद सुब्बाको उम्मेदवारी परेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ ।
हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।
उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ ।
यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।
हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो ।