- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारी दिने क्रम जारी छ । कांग्रेस नेता रञ्जित कर्णले पनि उम्मेदवारी दिएका छन् । उनले सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।
कर्णले मधेसी क्लष्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् । विभिन्न आठ क्लष्टरबाट आठ जना महामन्त्री निर्वाचित हुनेछन् । यसअघि बद्री पाण्डे, सुरेन्द्र चौधरी, मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ ।
हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।
उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ ।
यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।
हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो ।