- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि सुनील थापाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको मनोनयन दर्ताका क्रममा सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनाइए पनि चुनावी प्रतिस्पर्धामा भने थापाले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर छोरा उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ ।
हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।
उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ ।
यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।
हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो ।