- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै उनको प्यानलबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दर्ता गराएकी छिन् । सिंह दलबलसहित उम्मेदवारी दर्ता गराउन राष्ट्रिय सभागृहमा पुगेका थिए ।
उनको साथमा उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी सुजातासँगै राजेन्द्र केसी, दीपक खड्का, दीपक कुइँकेल, कठमाडौं जिल्लाका सभापति सबुज बानियाँ लगायत रहेका थिए ।
बाजागाजासहित उनी सभागृहमा पुगेका थिए । संस्थापन इतरसँग सहमति जुट्न नसकेपछि प्रकाशमान आफ्नो टिम लिएर उम्मेदवारी दर्ता गराएका हुन् । संस्थापन इतरबाट डा.शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
गणेशमान पुत्र प्रकाशमान र गिरिजाप्रसाद कोइराला पुत्री सुजाता अहिले आएर एकजुट भएका हुन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ ।
हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।
उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ ।
यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।
हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो ।