arrow

सवा ३ घण्टा ढिला गरी मतदान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
congress-election-line.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि सवा ३ घण्टा ढिला गरीमात्र मतदान शुरु हुँदैछ । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध भए पनि निर्वाचन समितिको तयारीमा ढिलाइ भएसँगै मतदानमा ढिलो भएको हो । 

बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण जनाउँदै मतदानमा ढिलाइ भएको केन्द्रीय निर्वाचन समिति सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए । 

मतपत्र छपाइमा ढिलो भएका कारण मतदान समयमा हुन नसकेको हो । उनले बिहान १०ः५५ बजे हाम्राकुरासँग भने, ‘सवा ११ बजेदेखि मतदान शुरु हुन्छ । ८०० मतपत्रमा हस्ताक्षर भइसकेको छ । त्यसलाई तीन स्थानमा बाँडेर मतदान कार्य शुरु हुन्छ ।’

उनले बाँकी मतपत्रमा हस्ताक्षर कार्य चलिरहेको बताए । मतदान ४ हजार ७४३ जनाले गर्नेछन् । 

समितिका अनुसार १३२ पदका लागि ४८९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । 

प्रदेश २ बाट केन्द्रीय सदस्यका लागि आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भइसकेका छन् । 

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ । 

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार प्रसार गरेर मतमागिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ