- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान अघि नेताहरुबीचको समीकरण निकै रोचक बनेको छ ।
कांग्रेसको रुपान्तरण र पुस्तान्तरणको नारा लिएर मैदानमा उत्रिएका सभापतिका तीन प्रत्यासी शेर बहादुर देउवाको पक्षमा उभिएपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
पहिलो चरणका कसैले पनि ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा हुन लागेको मतदानमा दृउवा र डा.शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो चरणको प्रतिस्पर्धामा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङले दोस्रो चरणको निर्वाचन प्रक्रियामा सभापतिमा देउवालाई समर्थन गर्ने प्रतिबद्धता जनाएपछि डा.कोइराला समूह आन्तरिक छलफलमा जुटेको छ ।
दोस्रो चरणमा आफूले जित्ने दाबी गरिरहेका डा.कोइरालाले मंगलबार विहान पहिलो चरणबाट बाहिरिएका निधी, सिंह र गुरुङसँग सहयोग मागेका थिए । तर विहानैदेखि घरदैलोमा पुगेका देउवाले तीनै जना प्रतिस्पर्धीको समर्थन जुटाइसकेका छन् ।
रामचन्द्र पौडेलले मंगलबार विहान राखेको चियापान समारोहमा बोल्दै डा.कोइरालाले यो नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै कार्यकर्तालाई संयमित हुन आग्रह गरेका छन् ।
चियापानमा पौडेलको मौनताविरुद्ध प्रतिनिधिहरुले विरोध जनाएपछि डा.कोइरालाले बरिष्ठ नेताको सम्मान गर्न आग्रह समेत गरे । ‘यो आन्तरिक लोकतन्त्र हो। उहाँहरु (देउवा र पौडेल) हाम्रा सम्मानित नेता हुनुहुन्छ ।’
डा. कोइरालाले आफ्नो कसैसँग द्वन्द्ध नभएको उल्लेख गर्दै दोस्रो चरणमा स्वस्थ्य प्रतिस्पर्धा गर्ने पनि बताए । यद्यपि, डा.कोइराला पक्षीय नेताहरु भने सबैको समर्थन देउवालाई नै भएपछि मतदानमा जाने कि नजाने भनेर छलफल पनि गरिरहेका छन् ।
यता, कांग्रेसले दोस्रो चरणका निर्वाचन कार्यतालिका सार्वजनिक गरेर तयारी थालेको छ । निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा दिउँसो ३ः३० देखि मतदान हुनेछ ।