arrow

निर्वाचन समितिको बैठक बस्दै, कसरी हुँदैछ मतगणना ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना आज अपराह्नबाट शुरु हुने बताइएको छ । तर केन्द्रीय निर्वाचन समितिको बैठकले कसरी मतगणना गर्ने भनी अझै टुङ्गो गरेको छ । 

यसका लागि अहिले केही बेरमै बैठक बस्न लागेको निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनले केही सदस्यहरुको फोन लागिरहेको छैन । उहाँहरु आउनासाथ बैठक बसेर निर्णय गर्छौं ।’

उनले गए रातभर सभापतिको मतगणनाका लागि खटिएकाले अहिले भेला हुन पनि समस्या भएको बताए । यसअघि बिहानमात्रै निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले अपरान्हबाट मत गणना शुरु गरिने जानकारी दिएका थिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । 

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । गएराति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा। शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरे । 

दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।
 
सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए । उनले भने, ‘आजै अपराह्नबाट मत गणना शुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।’

कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको  १४औँ महाधिवेशन उद्घाटन भएको थियो । 

मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ