arrow

उपसभापतिको मतगणना शुरु, महामन्त्रीको गणना भोलिमात्रै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
vice-president-candidates-1211.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको उपसभापतिको मतगणना शुरु भएको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले साँझ ५ बजेदेखि मतगणना गर्ने निर्णय गरेको भए पनि प्राविधिक पक्ष मिलाउँदा केही ढिलाई भएको हो । समितिका सचिव केशव रिजालले मतको मुजुल्का गरेर बाकस ल्याएर मतगणना थालिएको बताए ।  यसअघि ४ बजेदेखि मतगणना थाल्ने भनिएको भए पनि तयारी गर्दा थप ढिलाइ भएको थियो । 

मत गनिसक्न चार पाँच घण्टा लाग्ने निर्वाचन समितिका अर्का सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 

आज बिहान पार्टी सभापतिको मतगणना सकिएको थियो । आज उपसभापतिको मात्र मतगणना हुनेछ । उपसभापतिमा विजयकुमार गच्छदार, सुजाता कोइराला, पूर्णबहादुर खड्का, महेश आचार्य, दिव्येश्वरी शाह, डा. चन्द्र भण्डारी र धनराज गुरुङ्गबीच भिडन्त भइरहेको छ । यीमध्ये दुई जना निर्वाचित हुनेछन् । 

उपसभापतिको मत पार्टी मुख्यालय वीपीनगरका तीन ठाउँमा गणना भइरहेको हो । सचिव रिजालले महामन्त्रीको गणना भोलिमात्र हुने बताए । त्यसपछि सहमहामन्त्रीको गणना भएपछि मात्र केन्द्रीय सदस्यको गणना हुनेछ । 

यसअघि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री देउवा विजयी भएका हुन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा। शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरे । 

दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो । कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहका बीच कांग्रेसको  १४औँ महाधिवेशन उद्घाटन भएको थियो । 

मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ