arrow

कांग्रेस नेताद्धय बजगाई र डा. शर्मालाई सुरक्षाकर्मीको निगरानी, शेखर समूहको गम्भीर आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
rajendra-bajgai-dr-sunil-sharma.jpg
तस्बिर – राजेन्द्र बजगाई (बायाँ) र डा. सुनील शर्मा (दायाँ) ।

काठमाडौं । नेपाली कांग्रेसका नेताहरु राजेन्द्र बजगाई र डा. सुनील शर्मालाई सादा पोशाकका प्रहरी लगाएर दुःख दिइएको भन्दै आपत्ति जनाइएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बेलामा कांग्रेसको संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला प्यानलका केन्द्रीय सदस्यका उम्मेदवार एवं पर्यटन व्यवसायी राजेन्द्र बजगाई एवं मेडिकल शिक्षा व्यवसायी एवं नोबल मेडिकल कलेज विराटनगरका संचालक डा. सुनील शर्मालाई दुःख दिन खोजिएको भन्दै आपत्ति जनाइएको हो । 

आज डा. कोइरालाले मतदातालाई धन्यवाद दिन राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा यस विषयमा चर्चा चलेपछि गम्भीर आपत्ति जनाइएको हो । उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षणका लागि आग्रहसमेत गरिएको छ र 

लोकतान्त्रिक देशमा पुलिस प्रशासनको दुरुपयोग नगर्न आफ्नै पार्टीको सरकारलाई कोइराला पक्षले चेतावनीसमेत दिएको छ । प्रहरी प्रशासनको दुरुपयोग गरी तर्साउने, धम्क्याउने कार्य भएको भन्दै यस्तो गतिविधि बन्द गर्न चेतावनी दिइएको प्रदेश १ का सभापतिका उम्मेदवार एवं निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताएका छन् । 

घिमिरेले सरकारले सुनियोजित रुपमा आफूपक्षीय नेताहरुलाई दुःख दिएको आरोप लगाएका हुन् । बजगाईलाई राजनीतिक प्रतिशोधका आधारमा दुःख दिइएको कोइराला पक्षको ठम्याइ छ । 

बजगाईलाई दुई सातादेखि नै सादा पोशाकका प्रहरीले पिछा गरेर दुःख दिइरहेका हुन् । नेता बजगाईले महाधिवेशन निर्वाचनको प्रचारका क्रममा रहँदा शंकास्पद व्यक्तिहरुले आफ्नो पिछा गरेको, प्रहरीले पटक–पटक गाडी रोकेर खानतलासीका नाममा दुःख दिएको बताएका छन् । 

एकातिर चुनावको धपेडी र अर्कातिर प्रहरीले खानतलासीका नाममा टर्चर दिएको बजगाईले गुनासो गरेका छन् । त्यसैगरी डा. शर्मालाई समेत निगरानी बढाएर मानसिक तनाव दिन खोजिएको बताइएको छ । 

पार्टीको आन्तरिक चुनावमा मानसिक दबाब दिनका लागि प्रहरी प्रशासनको दुरुपयोग गरिएको आरोप डा. कोइराला पक्षले लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ