- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना भइरहेको छ । पाँच सय मत गन्दा गगनकुमार थापाले एकछत्र अग्रता बनाएका छन् । उनले ३२५ मत पाएका छन् ।
दोस्रो स्थानका लागि भने टक्कर परिरहेको छ । विश्वप्रकाश शर्माले १८५ मत पाएका छन् । प्रदीप पौडेलले १७७ मत पाएका छन् ।
डा. प्रकाशशरण महतले १६३ मत पाएका छन् ।
डा. मिनेन्द्र रिजालले ८६ मत पाएका छन् । डा. राजाराम कार्कीले भने १२ मतमात्र पाएका छन् ।
महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् ।
शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि गणकहरुको अभावमा ढिलामात्र मतगणना शुरु भएको हो । समिति सचिव जगन्नाथ श्रेष्ठले साढे १० बजेदेखि महामन्त्रीको मतगणना शुरु भएको जानकारी दिए ।
निर्वाचन समितिका अर्का सचिव केशव रिजालले गणकको सुत्ने समय नपुगेकाले मतगणनामा ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘मतगणना गर्ने साथीहरु आउनु पर्यो । केही समय सुत्न पनि पर्यो । बिहान ३ बजेसम्म उपसभापतिको मत गनियो । निद्रा नपुगेकाले ढिलाइ भएको हो ।’
यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् ।