arrow

गगन विजयी, विश्वप्रकाश जित नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
gagan-bishwaprakash.jpeg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना अन्तिम चरणमा पुगेको छ । गगनकुमार थापा विजयी भइसकेका छन् भने विश्वप्रकाश शर्मा जित नजिक पुगेका छन् । शर्मालाई पछ्याइरहेका डा. प्रकाशशरण महतको मतान्तर धेरै भएकाले पनि अब महतले शर्मालाई भेट्ने स्थिति देखिँदैन । 

४ हजार ९० मत गणना हुँदा थापाले २६ सय ४४ मत ल्याएका छन् । दोस्रो स्थानका शर्माले १६८५ मत ल्याएका छन् । तेस्रो स्थानका महतको १३५७ मत छ । ५८९ मत गन्न बाँकी छँदा शर्मा र महतको अन्तर ३२८ मतको रहेको छ । अब महतले भेट्न मुस्किल छ । 

प्रदीप पौडेल चौथो स्थानमा छन् । उनले १२ सय १७ मत ल्याएका छन् । पाँचौं स्थानका डा. मिनेन्द्र रिजालले ७०६ मतमात्र पाएका छन् । डा. राजाराम कार्कीले भने ९२ मतमात्र पाएका छन् । 

महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । 

शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि गणकहरुको अभावमा ढिलामात्र मतगणना शुरु भएको हो ।  समिति सचिव जगन्नाथ श्रेष्ठले साढे १० बजेदेखि महामन्त्रीको मतगणना शुरु भएको जानकारी दिए । 

निर्वाचन समितिका अर्का सचिव केशव रिजालले गणकको सुत्ने समय नपुगेकाले मतगणनामा ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘मतगणना गर्ने साथीहरु आउनु पर्यो । केही समय सुत्न पनि पर्यो । बिहान ३ बजेसम्म उपसभापतिको मत गनियो । निद्रा नपुगेकाले ढिलाइ भएको हो ।’

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ