arrow

महामन्त्री विश्वप्रकाशका चार दिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
bishwa-prakash-sharma-335.jpg

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गत बिहीबार निर्वाचित बनेका विश्वप्रकाश शर्माको दौडधुप बढेको छ। उनी कांग्रेसको महामन्त्री निर्वाचित भएदेखि नै विभिन्न राजनीतिक भेटघाटमा व्यस्त छन् ।

निर्वाचित भएलगत्तै शर्मा १ पुसमा नेता कार्यकर्ताहरुसँग पार्टी केन्द्रीय कार्यालय सानेपामा खुशी साट्न व्यस्त भए । त्यहाँबाट उनी सोही दिन सुन्दरीजलस्थित वीपी संग्रहालय पुगे। त्यहीँबाट उनले महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका थिए । उनी निर्वाचित बनेपछि सुन्दरीजलस्थित वीपीको सालिक मुनि शिर झुकाएर आगामी कर्म प्रतिको प्रतिज्ञा गरे।

सो क्रममा शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गर्दा रोपेको रुद्राक्षको बिरुवामा पानी हाले र संग्रहालयबाट वीपीलाई सम्झिए ।

त्यहाँबाट फर्किएर उनी सोही दिन १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका प्रकाशमान सिंहलाई भेट्न उनको चाक्सीबारीस्थित निवास पुगे । शर्मा सिंहकै प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

यसैगरी शर्माले २ पुसमा जनआन्दोलनका घाइते र माओवादी आन्दोलनका घाइतेलाई फरक तरिकाले भेट गरे । उनी विजयी बनेपछि शुभचिन्तकहरुले आफूलाई शुभकामना स्वरुप लगाइदिएका खादा र माला २०६२–६३ को जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थ र माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर थलिएका दीपेन्द्र गिरीलाई लगाइदिए ।

सो क्रममा उनले द्धन्द्धमा प्रताडित बनेका सबैप्रति सम्मान व्यक्त गर्दै देशमा राजनीतिक व्यवस्था ठीक भएको तर अवस्था बदल्नु आवश्यक रहेको भन्दै राजनीतिक यात्रामा सही ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

महामन्त्री शर्मा ३ पुसको दिन भने पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलासँगको भेटघाटमा बित्यो ।

सो क्रममा सभापति देउवादेखि नेता पौडेल र सिटौलासम्मको उनले साथ र सहयोगका लागि आग्रह गरे । आफूलाई भेट्न निवासमै पुगेका शर्मालाई सिटौलाले सफलताको शुभकामना दिंदै आगामी राजनीतिक यात्राको कामनासमेत गरे ।

महामन्त्री शर्मा आज आइतबार पनि राजनीतिक भेटघाटमा नै व्यस्त छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ