arrow

एडीबीको कालोसूचीमा शीर्ष चिनियाँ कम्पनी, त्रिभुवन विमानस्थल स्तरोन्नति परियोजनामा सहभागी हुन ​​रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
ADB1.jpg

काठमाडौं । तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरेपछि एसियाली विकास बैङ्क (एडीबी)ले कालो सुचीमा राखेको छ । एडीबीले चाइना सीएमसी इन्जिनियरिङ कम्पनी, नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह र चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई कालो सुचीमा राखेको हो ।

एडीबीको कालो सुचीमा परेका यी कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने परियोजनामा ​​सहभागी हुनबाट रोक लगाइएको छ । 

सन् २०२१ को अक्टोबरबाटै सुरु भई सन् २०२८ मा सकिने लक्ष्यको विमानस्थल स्तरोन्नति परियोजनाको प्रक्रियाका अझैं अघि बढ्न सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि एडीबीले १० अर्ब लगानी गर्दै छ । विमानस्थलको स्तरोन्नति परियोजनाका लागि दुई दर्जन कम्पनीले बोलपत्र खरिद गरे पनि चार चिनियाँ कम्पनीले मात्रै कागजात पेस गरेका थिए ।

चार चिनियाँ कम्पनी मध्ये चाइना सीएमसी इन्जिनियरिङ कम्पनी एक हो भने, अर्को  नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह र चाइना हार्बर इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर हो । यी दुवै कालो सुचीमा परेपछि अब, अर्का दुई कम्पनी मात्रै विकल्पमा रहेका छन् ।

अर्का दुई कम्पनी केडीएन एयरपोर्ट र चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनको जोइन्ट चेन्चर र चीन प्रवासी इन्जिनियरिङ समूह हो । यी दुईमध्ये अब, एडीबीसँगको छलफलपछि सस्तोमा काम गर्ने कम्पनीले जिम्मेवारी पाउने भएको बताइएको छ ।

तर, एडीबीको कालो सुचीमा परेका कम्पनीले नेपालमा ठुला परियोजनाको जिम्मेवारी पाएका छन् । अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चाइना सीएमसी इन्जिनियरिङ कम्पनी सन् २०२२ को अप्रिलसम्मका लागि एडीबीको कालो सुचीमा रहेको छ ।

यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको नर्थवेष्ट नागरिक उड्डयन विमानस्थल निर्माण समूह अनिश्चित समयका लागि कालो सुचीमा रहेको छ । 

चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई एडीबीले सन् २०२३ सम्मका लागि कालो सुचीमा राखेको छ । यी परियोजनाको हकमा भने यिनीहरूको कालो सुचीमा मान्य हुने भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ