arrow

ओलीलाई छल्न पाहुना नबोलाउने माओवादीको निर्णय

logo
आकाश शर्मा,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
oli-prachanda.gif.gif
फाइल तस्बिर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छल्नका लागि देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ। मुलुकका प्रमुख राजनीतिक दलका नेताहरूलाई सम्मेलनमा शुभकामना दिन बोलाउनु पर्नेमा माओवादीले भने एमाले अध्यक्ष ओली पनि बोलाउनु पर्ने भएपछि सम्मेलनमा कोही कसैलाई नबोलाउने भएको हो।

मङ्सिर महिनामा एमाले र काँग्रेसको महाधिवेशन हुँदा देश विदेशबाट पाहुना बोलाइएको थियो तर माओवादीले भने कोही कसैलाई नबोलाई राष्ट्रिय सम्मेलन गर्न लागेको हो। काँग्रेस महाधिवेशन स्थल भृकुटीमण्डपमा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विभाजन भएको नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल एकै मञ्चमा देखिएका थिए।

तर त्यहाँ प्रचण्ड र ओलीबिच सामान्य कुराकानी भए पनि खास हार्दिकता देखिएको थिएन। एमाले महाधिवेशनमा प्रचण्ड आफै सहभागी नभएर लीलामणि पोखरेललाई पठाएका थिए। तर माओवादीले भने एमाले पार्टीलाई निम्ता दिनुपर्छ भनेरै कोही कसैलाई पनि पाहुना नबोलाउने नीति लिएको हो। ‘पार्टी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच हार्दिकता छैन, यस्तो अवस्थामा एमालेलाई राष्ट्रिय सम्मेलनको निम्तो दिनुभन्दा कोही कसैलाई नबोलाउने निर्णय गर्दा नै ठिक लागेर यसो गरिएको हो’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने।

माओवादीले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा देश विदेशबाट पाहुना नबोलाउने निर्णय गरेको जानकारी दिइएको थियो। पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका थिए। गत महिना भएको नेकपा एमाले र नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरू निम्त्याइएको भए पनि माओवादीले किन यस्तो निर्णय लियो भन्नेबारेमा कौतुहलता पैदा भएको थियो।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुँदै छ।  सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुनेछन्। सो सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने जनाइएको छ।

राष्ट्रिय सम्मेलनमा बोलाउँदा ओली आउने सम्भावना निकै कम रहेको र देशव्यापी रूपमै एमालेलाई गाली गरेको तथा हिजो त्यही एमालेका मिसिएका कारण पनि माओवादीका लागि एमालेलाई शुभकामना सन्देश दिनका लागि अतिथि बोलाउने काम असजिलो भएको माओवादीका नेताहरूले जनाएका छन्। ‘राजनीतिक प्रतिवेदनमा ओलीलाई गाली गरिएको छ, देशव्यापी रूपमा एमालेका नेता कार्यकर्तालाई गाली गर्नु बाहेक अन्य काम भएको छैन। त्यति मात्र होइन ओली प्रतिगमनका मतियार हुन्, एमाले पश्चगामी पार्टी हो भनिएको छ त्यस कारण अहिलेको राष्ट्रिय सम्मेलनमा ओली र एमालेले बाहेकलाई बोलाउनु पर्ने हुन्छ। त्यसो गर्नुभन्दा कुनै पनि राजनीतिक दललाई नबोलाउँदा हुन्छ भन्ने निष्कर्षमा पुगिएको हो’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दस्ताबेजमा एमाले र केपी ओलीलाई गाली गरेका छन्। प्रचण्डले दस्ताबेजमा एमाले अध्यक्ष ओलीप्रति आक्रोश व्यक्त गर्दै एमालेले हालै गरेको दसौँ राष्ट्रिय महाधिवेशनले केही नयाँ विचार ल्याउन नसकेको, राष्ट्रिय समस्याबारे मौन बसेको उल्लेख गरेका छन्। ‘एमालेको अधिवेशन त विधि पद्धति माथि छलफल नै नभएको निरङ्कुश, विचार शून्य अधिवेशन हो, त्यहाँ मार्क्सवादको होइन, व्यक्ति पूजा भयो, एमाले समाजवाद केन्द्रित छैन, जनतालाई अधिकार दिने कुरामा केन्द्रित छैन, यो संविधानलाई सुधार गर्ने दृष्टिकोण बोक्दैन,’ सो प्रतिवेदनमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ