arrow

गुल्मीका सीडीओ कुचो लिएर सडकमा

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७८ पुष १० शनिबार
gulmi-cdo.jpg

गुल्मी । जिल्ला प्रशासन कार्यालय अगाडी शुक्रबार बिहान एक व्यक्तिले हातमा कुचो समातेर बडारी रहेका थिए । प्रायःसरसफाई गर्ने व्यक्ति सरसफाई गर्दा प्रयोग गर्ने पोशाकमा हुन्छन् । तर शिरमा ढाकाटोपी, चट्ट कोट र पाइन्टमा सजिएका व्यक्तिले हातमा कुचो समातेर बडारीरहेको दृश्यले सबैको ध्यान केन्द्रित गरिरहेको थियो । नजिकै गएपछि बल्ल थाहा भयो । उनी रहेछन् गुल्मीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्य विक्रम पौडेल ।

राष्ट्रिय सेवा दल (एनसीसी) नेपालको १४औं वार्षिकोत्सवको अवसरमा सदरमुकाम तम्घास बजारका विभिन्न स्थानमा सरसफाई गरि सन्देश प्रवाहका साथ मनाउने योजना बनाइएको रहेछ । यस जिल्लामा सरसफाईको अवस्था राम्रो भए पनि पछिल्लो समय भने सरसफाईको महत्व बिर्सिएको जस्तो अनुभूति नागरिकमा रहेको भन्दै त्यसैको सन्देश प्रवाहको लागि सरसफाई अभियान सञ्चालन गरिएको प्रजिअ पौडेलले बताए ।

सरसफाईले सामाजिक सभ्यतालाई जनाउँछ । सभ्य समाज निर्माणको महत्वपूर्ण सूचाङ्कको रुपमा सरसफाइलाई लिन सकिन्छ । तर सरसफाइप्रति वेवास्ता गरे भविष्यमा यसले जटिल समस्या निम्ताउन सक्ने भन्दै यसतर्फ पनि सचेत गराउन सरसफाइ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले सरसफाई भनेको व्यक्तिगत तहबाट सुरु हुने विषय भएकाले सरसफाई गर्ने सबै नागरिकको कर्तव्य र जिम्मेवारी भएको बताए । घरपरिवार, समाजबाट सरसफाई गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने भए पनि संस्थागत हिसाबले स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले उल्लेख गरे ।

सरकारी निकायका कर्मचारीले पनि सरसफाईमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘मिलीजुली कायम गरौं नेपालीको भातृत्व, ग्रामीण क्षेत्रको विकास, हामी सबैको साझा दायित्व’ भन्ने नाराका साथ स्वच्छ जीवन, स्वच्छ वातावरण सरसफाई हाम्रो अभियान उद्देश्य लिएर जिल्लामा सरसफाई गरिएको थियो ।

सरसफाई अभियानमा राष्ट्रिय सेवा दल (एनसीसी)को तालिम लिइरहेका सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरु, शिक्षक, सुरक्षा निकायको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ