- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुदूरपश्चिम । विभागीय टोली एपीएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश नं १ लाई ७ विकेटले हराउँदै उपाधि चुमेको हो । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा प्रदेश नं १ लाई ७ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
उपाधि जितेसँगै एपीएफले रु पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त ग¥यो । फाइनलमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनायो ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी वेगमले ११ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङतर्फ एपिएफका लागि सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिइन् । ६८ रनको विजयी लक्ष्य एपीएफले १४ दशमलब दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि ज्योति पाण्डेयले अविजित ३७ तथा ममता चौधरीले १७ रन बनाइन् ।
बलिङतर्फ प्रदेश १ की कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । एपीएफ की सीता रानामगर ‘प्लेयर अफ दी म्याच’ तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी प्रदेश १ की कप्तान रुविना क्षेत्री घोषित भइन् । क्षेत्रीले पाँच खेलमा १५७ रन बनाउनुका साथै आठ विकेटसमेत लिएकी थिइन् ।
यस्तै दुई अर्धशतकसहित १७६ रन बनाएकी अप्सरी वेगम उत्कृष्ट ब्याट्सवुमन घोषित भइन् । नेपाल क्रिकेट सङ्घ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको संयुक्त आयोजनामा यही पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र एक विभागिय टोलीले प्रतिस्पर्धा गरेका थिए ।