- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। विश्व हिन्दू महासङ्घ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका पदाधिकारी एवम् सदस्यहरूले तत्काल महासभामार्फत चुनाव गर्न र नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् । उनीहरूले गत मङ्सिर २५ गते हुने भनिएको निर्वाचन स्थगित भएको जनाउँदै आगामी माघभित्र चुनाव गर्न माग गरेका हुन् । उनीहरूले महासङ्घका निमित्त अध्यक्ष चक्रबन्धु अर्याललाई संस्थाको कामकारबाही अघि बढाउन प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने पनि धारणा राखेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका हुन् । गत मङ्सिर २५ गतेको लागि बोलाइएको महासभामा भने अस्मिता भण्डारीले स्वघोषित रूपमा आफूलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको धर्मगुरु व्यासाचार्य किशोर गौतमले सुनाए । निर्वाचन समितिले चुनाव स्थगित भएको घोषणा गरेपछि भण्डारीले आफूलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको पनि उनले जनाए ।
अहिले भण्डारीलाई महासचिवबाटपनि पदमुक्त गरिसकिएको पनि उनीहरूले जनाएका छन् । निर्वाचन स्थगित भएकोले यसअघिको कार्यसमिति यथावत् रहने पनि गौतमले जनाए । उनले अहिलेको निमित्त अध्यक्ष अर्यालले महासचिवमा रहेकी भण्डारीलाई पदमुक्त गरेको र सोबारे सिडिओ कार्यालयमा पनि जानकारी गराइएको सुनाए ।
महासभा बोलाउनको लागि डा. शास्त्रदत्त पन्तले आग्रह गरेका छन् । पन्तको संयोजकत्वमा निर्वाचन सम्पन्न गर्नको लागि समिति बनाइएको र यसले महासभा बोलाउने जनाइएको छ । डा. पन्तलाई महासभा प्रयोजनार्थ संयोजक भने गत मङ्सिर २६ गते नै बनाइएको थियो । गौतमले महासभा देवघाटमा गर्न खोजिएको सुनाए । धर्मगुरु व्यासाचार्य गौतम विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको अध्यक्षका प्रत्याशी हुन । उनी २०३७ सालदेखि विश्वव्यापी रूपमा निरन्तर स्वयंसेवक रूपमा खटिरहेका छन् ।
कार्यक्रममा विश्व हिन्दू महासङ्घ नेपाल ईकाईका वरिष्ठ उपाध्यक्ष शङ्कर खराल, जैन धर्माचार्य डा. नमन उपाध्याय, शिख धर्म गुरु सरदार गोविन्द सिंह, विश्व ॐकार एकता महाभियनाका प्रमुख संयोजक डा. चिन्तामणि योगी र सामाजिक अभियन्ता दिनेश कँडेलले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय कोषाध्यक्ष श्याम केसी र विश्व हिन्दू महासङ्घ धार्मिक विभागका गुरु दीपक सुवेदीको पनि सहभागिता रहेको थियो ।
छिटोभन्दा छिटो महासभामार्फत निर्वाचन सम्पन्न होस भन्ने सहभागीहरूको भनाई थियो । नयाँ कार्यसमिति लोकतान्त्रिक विधि र पद्धतिअनुसार खास गरी विधानसम्मत चुनावबाट अध्यक्ष आउनुपर्ने गौतमले बताए । उनीहरूले अहिले उठाइएका समस्याको समाधानको लागि महत्त्वपूर्ण थलो महासङ्घको विधानतः महासभा धर्म सभा नै भएको उल्लेख गरेका छन् ।
धर्मगुरु व्यासाचार्य किशोर गौतमको नाममा जारी गरिएको विज्ञप्तिमा यही २०७८ साल माघ महिनाभित्र देश तथा विदेशमा रहेका महासभा सदस्यहरूलाई आमन्त्रण गरी देवघाट धाममा महासभा राख्ने कुरा उल्लेख गरिएको छ ।
त्यस्तै, आर्थिक प्रचारप्रसार आदि गर्न विविध उपसमिति निर्माण गरी तदारुकताका साथ महासभाको थालनी गरिने पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ–‘तिथि मिति निश्चित गर्ने र भव्यतम रूपमा महासभालाई सम्पन्न गरी विश्व हिन्दू महासङ्घको कार्यकारिणी मूल कमिटी र धर्म सभा गठन गरी सम्पूर्ण सङ्घ-संस्थालाइ एकजुट बनाई उद्देश्य प्राप्तिमा सफलता हासिल गर्ने र विदेशका इकाईहरूलाई समेत सक्रिय रूपमा जगाउने र नभएका देशमा थप विस्तार गर्दै जाने छौं ।’