- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । नागरिकता वितरणमा सेवाग्राहीले सास्ती खेप्नु परेपछि सहज बनाउन माग गर्दै नेपाली कांग्रेस पाँचथरले जिल्ला प्रशासन कार्यालय पाँचथरको ध्यानाकर्षण गराएको छ । जिल्ला सभापति रुपनारायण जवेगुको नेतृत्वको टोलीले सोमबार प्रशासन कार्यालयमै गई नागरिकता वितरणमा ढिलाइ, नागरिकता बनाउन अनावश्यक सास्ती खेप्नु परेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, सहायक प्रजिअ धन्नजय शाहलाई भेटेरै ध्यानाकर्षण गराएको हो ।
ग्रामिण भेगबाट आउने नागरिकलाई नागरिकता बनाउन दुई तीन दिनसम्म सदरमुकामै बस्नुपर्ने, कागजात नपुगेको भन्दै फर्काइदिने जस्ता कारणले नागरिकहरु हैरानी खेप्न वाध्य भएको हुँदा सहज वातावरणमा चुस्त दुरुस्त ढंगबाट नागरिकलाई नागरिकता वितरण गर्न प्रजिअ न्यौपानेलाई आग्रह गरिएको पाटी जिल्ला सभापति जवेगुले बताए ।
पछिल्लो समय नागरिकता बनाउन आउनेको सख्यामा वृद्धि भएको, जिल्ला प्रशासनमा सहायक प्रजिअ तथा अधिकृत, नासु लगायतका कर्मचारीको दरबन्दी भए पनि कर्मचारी नआइदिँदा नागरिकलाई नागरिकता वितरण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जवाफ दिए ।
कर्मचारी पदपूर्ति गर्ने सवालमा मन्त्रालयसँग बारम्बार ताकेता गरिरहेको हुँदा अब कर्मचारी ब्यवस्थापन पश्चात नागरिकता वितरणमा धेरै सहज हुने उनले बताए । टोलीमा नेपाली कांग्रेस जिल्ला उपसभापति वृजहाङ आङदेम्बे, सचिवद्धय दीपक नेपाल र डेकेन्द्र तामाङ, सहसचिव सन्तोष श्रेष्ठ लगायतको उपस्थिति थियो ।
यस्तै मंगलबारबाट आउँदो बिहीबारसम्म ३ दिन बिहान ७ बजेबाटै सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शाहले बताए ।