अब म संसद्मा प्रधानमन्त्रीलाई खोज्दिन, उहाँभन्दा देशका समस्या ठूला छन् [भिडियो]
'प्रधानमन्त्री फेरि छापामार शैलीमा आउने हुन् कि भन्ने डर छ'
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
289
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा आफूले अब उप्रान्त प्रधानमन्त्री वालेन्द्र साहलाई नखोज्ने घोषणा गरेका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति र अभिव्यक्तिभन्दा पनि मुलुकका समस्याहरू निकै ठुला र संवेदनशील भएकाले प्रधानमन्त्रीलाई खोजेर संसद्को समय अवरोध गर्ने पक्षमा आफू नरहेको प्रस्ट पारे।
नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद्को गरिमा र आवश्यकता महसुस नभए पनि प्रतिपक्ष र देशलाई संसद् चाहिएको उल्लेख गरे। प्रधानमन्त्रीको एउटा विवादित अभिव्यक्तिका कारण संसद्को अमूल्य समय खेर फाल्न नहुने भन्दै उनले अब बजेट र जनताका जीवन्त मुद्दाहरूमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
बैठकमा बोल्दै नेता आङ्देम्बेले प्रधानमन्त्री साह फेरि कुनै दिन 'छापामार' शैलीमा संसद्मा आएर उद्दण्डता मच्चाउने हुन् कि भन्ने संशय र डर भने आफूमा कायम रहेको बताए।
उनले भने, "अब यही विषयमा यो संसद् रुमलिएर बस्नु हुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु। यो वर्षको बजेटउपरको छलफल बाँकी छ सभामुख महोदय। नेपाली जनताका अन्य कयौँ जीवन्त मुद्दामा हामीले छलफल गर्नु छ। प्रधानमन्त्रीजीलाई संसद् नचाहिएला, तर प्रतिपक्षलाई संसद् चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि पनि उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लागिराखेको छ। तर, उप्रान्त म उहाँलाई खोज्न चाहन्न। किनभने मेरो मुलुकको समस्या र प्रश्नहरू उहाँको उपस्थितिभन्दा पनि ठुला र संवेदनशील छन्। त्यसैले प्रधानमन्त्रीले बोलेकै कुरामा यो गरिमामय संसद्को अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारीबोधबाट म पन्छिन चाहन्न।"
प्रधानमन्त्री साहले संसद्प्रति जिम्मेवार बन्नुपर्ने भए पनि उनको गैरजिम्मेवार बानीकै कारण संसद् बन्धक बन्न नहुने प्रतिपक्षको निष्कर्ष रहेको आङ्देम्बेले स्पष्ट पारे। उनले संसद्लाई अब जनताका आवश्यकता र बजेटका सिद्धान्तमाथि घनीभूत छलफल गर्ने थलोका रूपमा अगाडि बढाउनुपर्ने र सोही जिम्मेवारीबोधका साथ काङ्ग्रेस अघि बढ्ने बताए।