arrow

भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
Tia-Runway-airport.jpg

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । 

काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवाँलो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबईतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँले जानकारी दिए । 

उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । 

अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ । मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुन नसकेको जनाइएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।

उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पुर्‍याउन एयरलाइन्सले हर सम्भव लागिपर्ने बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । 

धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु-कुहिरो लागेको छ । आज काठमाडौँको न्यूनतम ३ दशमलव ६ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ