arrow

भारतले पहिलो पटक हरायो सेन्चुरियनमा दक्षिण अफ्रिकालाई, थपियो यो रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
india-test-cricket-2021.jpg

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ । आज अन्तिम दिन ३०५ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिका १९१ रनमै समेटिएपछि भारतले ११३ रनको जित निकाल्न सफल भएको हो । 

भारतले सेन्चुरियनमा पहिलोपटक टेष्टमा जित निकालेको हो । योसँगै भारतले अष्ट्रेलियाको रेकर्डसँग बराबरी गरेको छ । भारतले अहिलेसम्म सबैभन्दा धेरै मैदानमा जित हासिल गर्ने कीर्तिमानको बराबरी गरेको हो । सेन्चुरियन भारतका लागि ५६ औं मैदान हो । 

सेन्चुरियनमा जित निकाल्ने कोहली एसियाका पहिलो कप्तान पनि बनेका छन् ।  

जितसँगै भारतले ३ खेलको श्रृंखलामा १–० को अग्रता लिन सफल भएको छ । खेलमा दक्षिण अफ्रिकाका कप्तान डिन एल्गारले ७७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । दक्षिण अफ्रिका ६८ ओभरमै अलआउट भयो । 

भारतका लागि जसप्रित बुमराह र मोहम्मद शामीले ३–३ तथा मोहम्मद सिराज र रविचन्द्रन आश्विनले २–२ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३२७ रन बनायो । प्लेयर अफ द म्याच लोकेश राहुलले १२३ रन बनाए । 

मायांक अग्रवालले ६० रन जोड्दा अजिन्क्या रहानेले ४८ रन बनाए । कप्तान विराट कोहली भने ३५ रनमा रोकिए । लुंगी एनगिडीले ६ तथा कागिसो रबाडाले ३ विकेट लिए । 

जवाफमा दक्षिण अप्रिकाले १९७ रन बनायो । टेम्बा बभुमाले ५२ रन बनाएको इनिङ्समा शामीले ५ विकेट लिए । बुमराह र शार्दुल ठाकुरले २–२ विकेट लिए । 

दोस्रो इनिङ्समा भारत १७४ रनमा समेटियो । ऋषभ पन्तले सर्वाधिक ३४ रन बनाएको इनिङ्समा कोहली १८ रनमै रोकिए । रहानेले २० रन जोडे । रबाडा र मार्को जासेनले ४–४ तथा एनगिडीले २ विकेट झारे । 

दोस्रो टेष्ट जनवरी ३ देखि जोहानेसवर्गमा हुँदैछ । भारतले दक्षिण अफ्रिकामा तीन टेष्ट र तीन एक दिवसीय खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ