arrow

देउवाले गुटको विजारोपण फेरि थाल्नुभयो – डा. शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
shekhar-Koirala.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले फेरि गुट उपगुटको विजारोपण गरेको आरोप लगाएका छन् । सभापति देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा आफ्नो गुट बलियो पार्ने नीति लिएको स्पष्ट भएको नेता कोइरालाले आरोप लगाएका हुन् । 

उनले हाम्राकुरासँग भने, ‘निर्वाचनमा पराजित भएकालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा पदाधिकारीमा पराजित भएका चन्द्र भण्डारी र प्रदीप पौडेललाई पनि सदस्य बनाएको भए के बिग्रन्थ्यो ?’

उनले अगाडि थपे, ‘भण्डारी र पौडेल अयोग्य हुन् र ? यसबाट त देउवाले गुटको विजारोपण फेरि थाल्नुभयो भन्ने हो । त्यो गर्न भएन ।’

महाधिवेशनको निर्वाचनपछि अस्वस्थ्य भई डा. कोइराला हाल विराटनगरस्थित निवासमा आरामरत छन् । देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा पाँच जना चुनाव हारेका नेताहरुलाई पनि मनोनयन गरे । 

तर उनले गुट उपगुट हेरेर आफ्नो प्यानलबाट चुनाव लडेका र आफूलाई चुनावमा सघाउनेलाईमात्र केन्द्रीय सदस्य बनाएका हुन् । डा. शेखर कोइराला प्यानलका भने कसैलाई पनि मनोनित गरेनन् । 

यसबाट नै गुट उपगुटको विजारोपण भएको डा. कोइरालाको प्रतिक्रिया छ । देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यीमध्ये सिंह र निधीले सभापतिमा चुनाव हारेका थिए । दुवैले सभापतिको दोस्रो चरणको मतदानमा डा. कोइरालालाई नभई देउवालाई सघाएका थिए । जबकि कोइरालासँगको पटक पटकको कुराकानीमा यदि दोस्रो चरणमा मतदान हुने भयो भने आफूलाई सघाउने वचन निधीले दिएका थिए । 

त्यस्तै गच्छदार र कोइरालाले उपसभापतिमा चुनाव हारेका थिए । गच्छदार देउवा प्यानलबाटै उम्मेदवार बनेका थिए भने कोइराला प्रकाशमान सिंहको प्यानलबाट खडा भएकी थिइन् । 

डा. महतले देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव हारेका थिए । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विधानअनुसार ३३ जना मनोनित गर्न पाइन्छ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १४ औं महाधिवेशनबाट एक सय ३४ निर्वाचित, एक सभापतिका निकटतम प्रतिस्पर्धी गरी एक सय ३५ जना यसअघि नै भएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ