- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीबाट ६ जनालाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले ६ जनाको नामको टुङ्गो लगाउँदै अनुमोदन गरेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।
जसमा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा गुरुङ र नारायणदत्त मिश्र हुन् । कांग्रेसले प्रदेश १ बाट बस्नेत, बागमती प्रदेशबाट पौडेल, गण्डकी प्रदेशबाट पन्त, लुम्बिनी प्रदेशबाट शर्मा, कर्णाली प्रदेशबाट गुरुङ र सुदूरपश्चिम प्रदेशबाट मिश्रलाई अघि सारेको हो ।
पदाधिकारीको बैठकले टुङ्गो लगाएका उम्मेदवारको नाम वीपीनगर सानेपामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । प्रदेश १ का उम्मेदवार बस्नेत झापाका पुराना नेता हुन् । उनी अघिल्लो पटक मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रिय सभामा पठाएकामा राष्ट्रपति विद्यादेवी भण्डारीले भने अस्वीकृत गरेकी हुन् ।
त्यस्तै बागमती प्रदेशका उम्मेदवार पौडेल पार्टी कार्यालयका मुख्य सचिव हुन् । यसअघि पनि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रिय सभामा पठाएकामा राष्ट्रपतिले अस्वीकृत गरेकी थिइन् ।
गण्डकी प्रदेशबाट उम्मेदवार बन्दै गरेकी पन्त पूर्व मन्त्री हुन् । उनी पार्टीको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएकी थिइन् । उनी डा. शेखर कोइराला प्यानलबाट उठेकी भए पनि रामचन्द्र पौडेल निकट मानिन्छिन् ।
कर्णाली प्रदेशबाट उम्मेदवार बन्दै गरेकी गुरुङ माओवादी पीडित हुन् । उनी शहीद पत्नी पनि हुन् । उनका पति यज्ञ गुरुङको माओवादीले २०५८ साल पुस २७ गते हत्या गरेको थियो ।
लुम्बिनी प्रदेशबाट उम्मेदवार हुँदै गरेका शर्मा नेपालगञ्जका हुन् । उनी कांग्रेसका पुराना नेता हुन् । उनलाई कांग्रेसले अहिले उम्मेदवार बनाएर न्याय गरेको रुपमा बुझिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारी दिँदै गरेका मिश्र कैलालीका हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश सभा सभापतिका लागि लडेका थिए । संस्थापन इतरका उनी पराजित भएका थिए ।
यसअघि बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुँदै गरेको १९ सिटका लागि भागबण्डा गरेको थियो । जसअनुसार जुन पार्टीको पहिले जति पद थियो त्यसमा सोही अनुसार र एमालेकोबाट आउने पदमा भने भागबण्डा गर्ने निर्णय भएको थियो ।
जसअनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ५–५ तथा जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सीट दिने सहमति भएको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठकले माघ १२ गतेको निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरुलाई विजयी गराउन सबै मतदातालाई आग्रहसमेत गरेको छ ।