arrow

एकै दिन २१ लाख सङ्क्रमित थपिए, विश्व फेरि महामारीको चपेटामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
coronaworld.PNG

काठमाडौं । विश्वभर मंगलबार अर्थात् हिजो मात्रै २१ लाख ५३ हजार ७ सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि सोमबार विश्वभर १३ लाख ५१ हजार ४ सय ९५ नयाँ सङ्क्रमित थपिएका थिए ।

डिसेम्बर २६ मा ६ लाख ८९ हजार ५ सय ३० नयाँ सङ्क्रमित थपिएका थिए । त्यसयता करिब १० दिनको अवधिमा विश्वभर सङ्क्रमण झन्डै ३ गुणा भन्दा बढीले बढेको देखिन्छ ।

अमेरिका, भारत, बेलायत, फ्रान्सलगायत विश्वका धेरै जसो मुलुकहरूमा सङ्क्रमण बढ्दै गएको छ । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी सङ्क्रमित थपिइरहेका छन्, भने बेलायतमा दैनिक २ लाख भन्दा बढी सङ्क्रमित थपिइरहेका छन् ।

फ्रान्समा पनि झन्डै ३ लाखको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा आधा लाख भन्दा बढी सङ्क्रमित थपिएका छन् । पुरै विश्वमा नै अहिले फेरि सङ्क्रमण बढ्न थालेसँगै कोभिड-१९ महामारीको तेस्रो लहर सुरु भएको देखिन्छ।

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको महामारीले फेरि एक्कासि उग्र रूप लिएको छ । भारतमा ८ दिनअघि (डिसेम्बर २८) मा करिब ९ हजार नयाँ सङ्क्रमित थपिएका थिए । ती भन्दा अघिल्ला दिनहरूमा दैनिक नयाँ थपिने सङ्क्रमितको सङ्ख्या पाँचदेखि छ हजारको हाराहारीमा रहेको थियो ।

तर, डिसेम्बर २९ यता सङ्क्रमण बढ्दै जाँदा मंगलबार अर्थात् हिजो ५८ हजार ९७ नयाँ सङ्क्रमित थपिएका छन्, भने ५३४ सङ्क्रमितको मृत्यु भएको छ । 

यस्तै अष्ट्रेलियामा पनि मंगलबार  ६४ हजार ७ सय ५८ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढी सङ्क्रामक छ भनेर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) एवं अन्य विज्ञहरूले चेतावनी दिँदै आएका बेला विश्वभर सङ्क्रमण बढेको हो ।

एक पटक सङ्क्रमित भइसकेका र खोप लगाएकाहरूलाई समेत सङ्क्रमित पार्न सक्ने भएका कारण ओमिक्रोन भेरियन्टले निम्त्याउने महामारी झनै भयावह हुनसक्ने चिन्ता बढेको छ । भारतमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा समेत अब, केही दिनमै सङ्क्रमण बढ्न सक्ने विज्ञहरूको भनाइ छ ।

भारतमा सङ्क्रमण बढ्न थालेसँगै राज्य सरकारहरूले कर्फ्यु लगाउन सुरु गरेका छन् । भारतको दक्षिणी राज्य कर्नाटकमा शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु जारी रहने भएको छ । यसअघि हिजो मात्रै दिल्ली राज्य सरकारले पनि शनिबार र आइतबार कर्फ्यु लगाउने घोषणा गरिसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ