arrow

सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ : डा. शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
shekhar-koirala panel-meeting-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो प्यानलका नेताहरुलाई सम्वोधन गरेका छन् । १४ औं महाधिवेशनको नतिजापछि पहिलो पटक आफ्नो प्यानलबाट विजयी भएका र पराजित भएका नेताहरुलाई राजधानीमा सामूहिक छलफलका क्रममा चार वटा बुँदा समेटेर सम्वोधन गरेका हुन् । 

उनले कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको भन्दै केहीलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्याएको र कसैलाई पदीय जिम्मेवारीबाट बाहिर राखेको उल्लेख गरेका हुन् । डा. शेखरले आफूहरु अग्निपरीक्षामा रहेको भन्दै ‘संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन्’ भनेका छन् । 

उनले आफूहरुको महाधिवेशन भर्खर सम्पन भएको र अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु नहुनेमा जोड दिँदै ‘तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ ।’ भनेका छन् । 

डा. शेखरले ‘हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ । पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराश भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन्’ भनेका छन् । 

सो क्रममा उनले नेतृत्वले गर्ने निर्णय प्रकृयाले पार्टीमा उर्जाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्नेतर्फ सचेतसमेत गराएका छन् । डा. शेखरले सभापतिले केन्द्रीय सदस्यमा गरेको मनोनयनको मापदण्डबारे प्रश्न गरेका छन् । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको समेत उनले उल्लेख गरेका छन् । 

उनले थप भनेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ ।’

यस्तो छ डा कोइरालाको सम्वोधन 
साथीहरु, 
नेपाली कांग्रेसलाई नयाँ उचाइमा पु¥याउने अभियानमा विश्राम लागेको छैन । पार्टीको १४औँ महाधिवेशनले केही साथीहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पु¥याएको छ भने केही साथीहरुलाई पदिय जिम्मेवारीबाट बाहिर राखेको छ  । 
१) संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरीरहेका छन । त्यस कारण हामी अग्नि परिक्षामा छौँ । 
२) हाम्रो महाधिवेशन भर्खर सम्पन भएको छ । अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हँुदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगतरुपमा अगाडि बढोस् भन्ने चाहन्छाँै । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ । पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराश भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रकृयाले पार्टीमा उर्जाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।
३) पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के “मापदण्ड” अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौ । पार्टीमा न्यायचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ । 
४) सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?
मलाई थाहा छ । हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौँ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौँ । यी बिषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने ? मलाई लाग्छ हामी सक्छाँै ।  
साथीहरु 
हाम्रा अगाडिका बाटाहरु सहज छैनन, तीन तहको निर्वाचन हाम्रो सामु छ ।  कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरुसामु जानेछौँ र कांग्रेस एकताको सन्देश, कांग्रेस रुपान्तरणको सन्देश, नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ । हामी थाक्नेछैनौँ र विश्राम लिने छैनौँ । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिनेछैनौँ र निराश हुन दिनेछैनौँ । कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहनेछौँ । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्घ छौँ  । 
 जय नेपाल 
डा. शेखर कोइराला
                                               २१ पौष २०७८

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ